logo
  • बुधबार, कार्तिक १९, २०८३ / Wednesday, Nov, 04 ,2026

दिउँसोदेखि विद्युत नहुँदा सर्लाहीबासीको जनजिवन अत्यन्त कष्टकर


  • उज्यालो अभियान

हरिवन – आज (बुधबार) मध्यान्ह देखि विद्युत अवरुद्ध हुँदा सर्लाहीका सर्बसाधारणको जनजिवन अत्यन्त कष्टकर बनेको छ ।

दिउँसो झण्डै १ बजेदेखि अवरुद्ध भएको विद्युत राती साँढे ९ बजे यो समाचार तयार पार्दासम्म सूचारु हुन सकेको छैन । अत्यन्त गर्मी मौसमका कारण विद्युत नहुँदा सर्बसाधारणले निकै कष्ट भोग्नु परेको छ ।

केही दिन पानी परेर भर्खरै रोकिएकाले अत्यन्त चर्को घामको तातो र घामको रापले उत्पन्न भएको वाफका कारण सर्वसाधारणले निकै गर्मी महसुस गरिरहेका छन् । दुई दिनदेखि चर्को गर्मी महसुस गरिरहेका सर्बसाधारणलाई बुधबार दिउँसोदेखि विद्युत अवरुद्ध हुँदा पंखा नचलेपछि थप पीडा भएको छ । लामो समयसम्म विद्युत सूचारु नगरेर नेपाल विद्युत प्राधिकरणले सर्लाहीका उपभोक्ताको जनजिवनसँग खेलवाड गरेको भन्दै हरिवन युवा क्लबका अध्यक्ष सुमन सिन्धालीले आक्रोश व्यक्त गरे ।

कोरोना भाईरस संक्रमणका कारण हाल जिल्लामा उद्योग कलकारखाना बन्द भएकाले विद्युत माग अत्यन्त न्यून भएको अवस्थामा समेत यति लामो समयसम्म अवरुद्ध हुनुले विद्युत प्राधिकरणका कर्मचारीको अत्यन्त लापरबाही देखिएको उपभोक्ताले आरोप लगाएका छन् । यता विद्युत प्राधिकरण लालबन्दी स्रोतले भने रौतहटको चन्द्रनिगाहपुर स्थित सबस्टेशनबाट सर्लाहीतर्फ आएको १३३ केभी प्रशारण लाईनमै समस्या आएका कारण विद्युत अवरुद्ध भएको जनाएको छ । दिउँसैदेखि ४–५ वटा टोली पौराई जंगल क्षेत्रमा ‘फल्ट’ पत्ता लगाउन र मर्मत संभारका लागि खटिएको उल्लेख गर्दै एक कर्मचारीले राती अबेरसम्म विद्युत सुचारु हुने दाबी गरे ।

१८ घण्टा लोडसेडिङ भएको विगत झल्कने गरी विद्युत अवरुद्ध हुँदा आम सर्बसाधारण आक्रोशित बनेका छन् ।