logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

हरिवनमा बैँक तथा वित्तिय संस्था आंशिक खुल्ने


  • उज्यालो अभियान

हरिवन नगरपालिका कार्यालय । (तस्बिर : उज्यालो अभियान)

हरिवन – सर्लाहीको हरिवन नगरपालिकाले नगरभित्र रहेका बैँक तथा वित्तिय संस्थालाई साताको तिनदिन खोल्न दिने निर्णय गरेको छ ।

हरिवन नगरपालिका भित्र रहेका बैंक तथा वितिय संस्थाहरुलाई सातामा आईतबार, मंगलबार र शुक्रबार खोल्न दिने निर्णय भएको नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईंले जानकारी दिए । कोरोना भाईरस संक्रमण दिनानुदिनै बढ्दै गएपछि त्यसको रोकथाम र नियन्त्रणका लागि नगरभित्रका सम्पूर्ण बैंक तथा वित्तिय संस्थालाई जेठ पहिलो साताबाट हरिवन नगरपालिकाले पूर्ण रुपमा बन्द गराएको थियो ।

मंगलबारसम्म बन्द रहेको बैंक तथा वितिय संस्थालाई बुधबारबाट भने आंशिक रुपमा खोल्न दिने निर्णय भएको हो । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञा भने आगामी जेठ २५ गते राती १२ बजेसम्म जारी छ । हरिवन नगरपालिकाले मंगलबार एक सूचना जारी गर्दै नगर क्षेत्र भित्रका बैँक तथा वित्तिय संस्थालाई स्वास्थ्य मापदण्डको पूर्ण पालना गर्दै हप्ताको तिन दिन खोल्न दिने जानकारी गराएको हो ।

नगरपालिकाले आगामी जेठ २५ गतेसम्म आईतबार, मंगलबार र शुक्रबार गरी तिनदिन बिहानको १० बजेदेखी २ बजेसम्म मात्र खुला गर्नेगरी बैँक तथा वित्तिय संस्थालाई अनुमति दिएको छ । त्यस्तै संस्था खुला रहने अवधिभर स्वास्थ्य मापदण्डको पालना गरी व्यक्ति व्यक्ति बिच सामाजिक दुरी कायम गरी कारोबार गर्नुपर्ने र अन्य पेशा व्यवसायको हकमा पहिलेकै निर्णय अनुसार जेठ २५ गतेसम्म बन्द नै रहने नगरपालिकाका मेयर प्रसाईंले जानकारी दिएका छन् ।