मलंगवा – सर्लाहीको विष्णु गाउँपालिकाबाट उद्धार गरिएकी एक दलित समुदायकी किशोरीले जिल्ला प्रहरी कार्यालय मलंगवामा किटानी जाहेरी दिएकी छिन् । यता पीडक पक्षले भने किशोरीका परिवारलाई प्रलोभन एवं धम्की दिन थालेका छन् ।
विष्णु गाउँपालिका–७ दुलवाका १९ बर्षीय युवक शिवा भनिने शिवकुमार यादव विरुद्ध १७ वर्षीया ती किशोरीले अपहरण तथा शरिर बन्धक र जबर्जस्ती करणी सम्बन्धी किटानी जाहेरी दिएकी हुन् । पीडित किशोरीले जिल्ला प्रहरी कार्यालयमा किटानी जाहेरी दिएको र जाहेरी दर्ता भईसकेको प्रहरी उपरीक्षक सन्तोष सिंह राठौरले जानकारी दिए । ‘पीडित किशोरी आफैले किटानी जाहेरी दिईसक्नु भएको छ’, प्रउ राठौरले मंगलबार दिउँसो उज्यालो अभियानसँग भने, ‘अब अभियुक्तलाई तुरुन्त नियन्त्रणमा लिनका लागि खोजतलास अगाडी बढाईसकेका छौं, कानून अनुसार अनुसन्धान एवं कार्बाही प्रकृया अगाडी बढाएका छौं ।’
बिवाह गर्ने भन्दै शिवाले सबा महिना अघि मुसहर समुदायकी किशोरीलाई घरबाट भगाएका थिए । स्थानीय दलित अगूवा एवं समाजवादी दलित मुक्ति महासंघका जिल्ला उपाध्यक्ष राजन बैठाका अनुसार बाराको जीतपुर तिर २० दिन सँगै राखेपछि शिवाले किशोरीलाई १५ दिनअघि उनकै घरमा ल्याएर छाडिदिएका थिए । तर अभिभावकले घरमा पस्न नदिएपछि किशोरी फेरि शिवाकै घरमा गएको र शिवाको अभिभावकले समेत तल्लो जातको भन्दै घर भित्रन नदिएको जनता समाजवादी पार्टी सम्बद्ध युवा संजाल प्रदेश नम्बर दुई सदस्य समेत रहेका वैठाले जानकारी दिए ।
गोठमा लगेर राखेपछि शिवा घरबाट फरार भएको र शिवाका बुबा लगायत अभिभावकले समेत अमानवीय व्यवहार गरेको पीडित किशोरीले बताएकी छिन् । गत शनिबार जिल्ला प्रहरी कार्यालयको टोली, महिला शान्ति केन्द्रकी प्रमुख बनिता कार्की, दलित अगूवाहरु राजेश पासवान, राजन वैठा, पँचु माझी मुसहर लगायतको टोलीले किशोरीलाई शिवाको गोठबाट उद्धार गरी मलंगवा ल्याएको थियो । किशोरीलाई हाल मलंगवा नगरपालिकाले सञ्चालन गरेको महिला शान्ति केन्द्र (सेफ हाउस) मा राखिएको छ ।
अनपढ एवं अत्यन्त गरिब दलित समुदाय भएकाले केटाको पक्षबाट किशोरीका अभिभावकलाई प्रलोभन एवं धम्की आउन थालेको पीडित परिवारले बताएको छ । किशोरीकी आमाले केटा पक्षबाट किटानी जाहेरी नदिनु र दिए घरमा जेसुकै हुने भन्दै धम्की आईरहेको गुनासो गरिन् । ‘छोरीलाई उद्धार गर्नेहरु तथा प्रहरी प्रशासन एवं बाहिरबाट आएका नेताहरु हुञ्जेल राम्रो कुरा गर्छन्, अनि सबै गईसकेपछि घरमा आगो लाग्छ भन्दै धम्की दिन्छन्’, किशोरीकी आमाले उज्यालो अभियानसँग मंगलबार फोनमा कुरा गर्दै गुनासो गरिन्, ‘अब समाजले जे भन्छ त्यही गर्नु पर्यो नि नभए त गाह्रो हुन्छ होला ।’
किशोरीका दाई पनि केटाको पक्षबाट धम्की र प्रलोभन आएको बताउँछन् । ‘समाजका सबै मिल्नु मिल्नु भन्छन्, उजुरी नगर्नु भन्छन्’, किशोरीका दाईले उज्यालो अभियानसँग भने, ‘दुई लाख रुपैंया लिएर मिल्नु भनिरहेका छन्, नमिले अफ्ठ्यारो हुने भन्दै धम्की पनि दिईरहेका छन् ।’
स्थानीय दलित नेता वैठा पनि केटा पक्षबाट पीडित पक्षलाई पैसाको प्रलोभन अनि धम्की समेत आईरहेको बताउँछन् । ‘केटाको पक्षबाट प्रलोभन दिने अनि धम्की समेत आईरहेको छ’, वैठाले भने, ‘तर हाँमी पीडित किशोरीलाई न्याय दिलाउनका लागि जस्तोसुकै कदम चाल्न पनि तयार छौं ।’ दलित नेता राजेश पासवानले पनि पीडित किशोरीलाई न्याय दिलाउनका लागि सबै पक्ष, तह र तप्कालाई यथाशक्य सहयोग गर्न आग्रह गरेका छन् ।
यता प्रहरीले भने कानून अनुसार कडा कार्बाही प्रकृया अगाडी बढाईने जनाएको छ । प्रहरी उपरीक्षक राठौरले यदि पीडित परिवारलाई कसैले धम्की दिएको पत्ता लागे उनीहरु विरुद्ध समेत कार्बाही प्रकृया अगाडी बढाईने चेतावनी दिएका छन् । सेफ हाउस प्रमुख बनिता कार्कीले हाल किशोरीलाई सुरक्षित रुपमा राखिएको बताईन् ।