हरिवनको सासापुर स्थित कोभिड अस्थायी अस्पताल । (तस्बिर : उज्यालो अभियान)
हरिवन – सर्लाहीको हरिवन नगरपालिकाले गत शुक्रबार संकलन गरेको २४ जनाको थ्रोट स्वाब मध्ये ७ जनामा कोरोना भाईरस पोजेटिभ देखिएको छ ।
पोजेटिभ मध्ये ६ जना नयाँ र एकजना पूरानै संक्रमित महिलाको पुनः पोजेटिभ रिपोर्ट आएको हरिवन नगरपालिका कोभिड फोकल पर्सन रामबाबु चौधरीले जानकारी दिए । नयाँ संक्रमित मध्ये ४ जना हरिवन नगरपालिकाबासी एवं दुईजना लालबन्दी नगरपालिकाबासी रहेका छन् ।
त्यस्तै हरिवन नगरपालिकाले सोमबार पुनः सासापुर स्थित कोभिड अस्थायी अस्पताल परिसरमा ५१ जनाको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालको ल्याबमा पठाएको छ । ३२ जना पुरुष र १९ जना महिलाको थ्रोट स्वाब संकलन गरेर परीक्षणका लागि पठाईएको चौधरीले जानकारी दिए । कोरोना भाईरसको दोस्रो कहरकाल सूरु भएयता यो थ्रोट स्वाब संकलन हरिवन नगरपालिकाले सातौ पटक गरेको हो । त्यस्तै हरिवन नगरपालिकाले आगामी जेठ २० गते विहिबार पनि संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका, आफन्त, परिवारजन, उद्योगी, व्यापारी लगायतको थ्रोट स्वाब संकलन गर्ने कार्यक्रम राखेको छ ।
हरिवन नगरपालिकाका मेयर गणेश प्रसाद प्रसाईंले संक्रमितको परिवारका सदस्य, आफन्त एवं कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको निरन्तर थ्रोट स्वाब संकलन गरिने र कोरोना भाईरस संक्रमण फैलन नदिन यथाशकय पहल भईरहेको जानकारी दिए । जिल्ला स्थित कतिपय पालिकाहरुले भने अहिलेसम्म एकजनाको पनि थ्रोट स्वाब संकलन गरेको छैन ।