स्व. चौधरीकी पत्नी सुशिला चौधरीलाई नगद प्रदान गर्दै प्रदेश सांसद् बेची लुंगेली र एमाले नेता सुरेन्द्र लामा । (तस्बिर सौजन्य : भरतकुमार कार्की)
मलंगवा – कोरोना भाईरस संक्रमणका कारण मृत्यु भएका नेकपा एमाले जिल्ला कमिटी सचिवालय सदस्य एवं शिक्षक संगठनका प्रतिनिधि तथा पुष्पलाल स्मृति प्रतिष्ठान सर्लाहीका सदस्य रघुनाथ चौधरीको परिवारलाई आर्थिक सहयोग गरिएको छ ।
चौधरीकी पत्नी सुशिला चौधरीलाई नगद ५१ हजार प्रदान गरिएको हो । प्रदेश सांसद् एवं एमाले जिल्ला सचिब बेची लुंगेली, पुष्पलाल स्मृति प्रतिष्ठान प्रदेश ुदई सदस्य सुरेन्द्र लामा, कृष्ण काफ्ले, कृष्णमान श्रेष्ठ लगायतले मलंगवा स्थित घरमै पुगेर आईतबार दिउँसो नगद हस्तान्तरण गरेको एमाले नेता भरतकुमार कार्कीले जानकारी दिए ।
कोरोना भाईरस संक्रमणका कारण स्वास्थ्यमा निकै समस्या आएपछि वीरगंजमा उपचार गर्दागर्दै चौधरीको गत जेठ ७ गते मृत्यु भएको थियो । उपचारका लागि प्रदेश सांसद् लुंगेली, एमाले नेता लामा, नेताहरु उद्ववराज पाठक, धन बहादुर मिक्चन, भरत कुमार कार्की, सनोज दास, लिलि घिसिङ, कौशिला लुङ्गेली, कृष्ण दाहाल, महेश बराल लगायतबाट संकलन गरिएपनि अपर्झट चौधरीको मृत्यु भएकाले उक्त रकम परिवारलाई हस्तान्तरण गरिएको बताईएको छ ।
स्व. चौधरी नेकपा एमाले भित्र अत्यन्त भद्र एवं सादगी नेताको रुपमा परिचित थिए । पूर्व शिक्षक समेत रहेका चौधरी नेपाल राष्ट्रिय शिक्षक संगठनमा समेत रहेर क्रियाशिल थिए ।