स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण सम्बन्धी आधिकारिक पत्र जिसस प्रमुख मेथुर चौधरी र प्रजिअ हेमराज तामाङलाई हस्तान्तरण गर्दै सहयोगि संस्थाका प्रतिनिधिहरु । (तस्बिर : उज्यालो अभियान)
मलंगवा – विभिन्न गैर सरकारी संस्थाहरुको साझेदारीमा जिल्ला संकट व्यवस्थापन केन्द्र सर्लाहीलाई कोभिड–१९ प्रतिकार्यका लागि अक्सिजन सिलिण्डर, कन्सेट्रेटर सहित २४ लाख ९१ हजार ५५२ रुपैंया बराबरको स्वास्थ्य सुरक्षा सामग्री प्राप्त भएको छ ।
अष्ट्रेलियन एडको सहयोगमा वल्र्ड भिजन, बागमती सेवा समाज हरिवन र आरआरपीके मलंगवाका प्रतिनिधिले संयुक्त रुपमा शनिबार उक्त सामग्री केन्द्रका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी हेमराज तामाङलाई हस्तान्तरण गरेका छन् । जिल्ला प्रशासन कार्यालय परिसरमा प्रजिअ तामाङको अध्यक्षतामा आयोजित संक्षिप्त कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख मेथुर चौधरीको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा मलंगवा नगरपालिकाका मेयर निरसल साह, जिससका समन्वय अधिकारी होमनाथ सुबेदी, पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंकबहादुर क्षेत्री, प्रेस युनियनका केन्द्रीय सदस्य एवं महासंघ पूर्व अध्यक्ष रोशन न्यौपाने, वल्र्ड भिजनका चन्द्र बहादुर मोक्तान, आरआरपीकेका शिवजी प्रसाद साह, बागमती सेवा समाजका अध्यक्ष भरतकुमार कार्की लगायत उपस्थित थिए ।
वल्र्ड भिजनले सर्लाहीका विभिन्न पालिकामा सञ्चालन गरिरहेको कार्यक्रम कोरोना भाईरस संक्रमणका कारण हुन नसकेपछि सोही कार्यक्रम अन्तर्गत जिल्ला संकट व्यवस्थापन केन्द्रलाई स्वास्थ्य सुरक्षा सामग्री सहयोग गरिएको बागमती सेवा समाजका कुमार भण्डारीले जानकारी दिए । हस्तान्तरण गरिएका सामग्रीमा अक्सिजन भरिएको सिलिण्डर ७० थान, अक्सिजन कन्सेट्रेटर एक थान, पीपीई सेट ७० थान, ईन्फ्रारेड थर्मामिटर ७० थान, अक्सोमिटर ७० थान, हात सफाई गर्ने लिक्वीड साबुन १४ थान, सर्जिकल मास्क १४ पोका, ५ लिटरको सेनिटाईजर ५ ग्यालेन, एन ९५ मास्क ७४ वटा रहेका छन् ।
प्राप्त सामग्रीले कोरोना भाईरस संक्रमण न्युनिकरण एवं संक्रमितको उपचारमा निकै टेवा पुग्ने भन्दै सहयोगी संस्थाप्रति जिसस प्रमुख चौधरीले धन्यवाद प्रकट गरे । उनले आगामी दिनमा पनि यसैगरी सहयोग प्राप्त हुने अपेक्षा समेत गरे ।
त्यसैगरि प्रजिअ तामाङले प्राप्त अक्सिजन सिलिण्डर सहित अन्य सामग्री जिल्ला स्थित सञ्चालनमा रहेका कोभिड अस्थायी अस्पतालहरुमा आवश्यकता अनुसार पारदर्शी ढंगले वितरण गरिने प्रतिबद्धता जनाए । सबै पालिकालाई भागवण्डा गरेर भन्दापनि आवश्यकता अनुसार सामग्रीहरु वितरण गरिने र वितरण भएको विवरण समेत जिल्ला प्रशासन कार्यालयको वेभसाईट र फेसबुक पेजमा सार्वजनिक गरिने उल्लेख गर्दै प्रजिअ तामाङले सहयोगी संस्थाहरु प्रति हार्दिक आभार प्रकट गरेका छन् । हाल सर्लाहीका विभिन्न अस्पताल एवं आईसोलेसन सेन्टरमा १४७ थान अक्सिजन सिलिण्डर रहेको प्रजिअ तामाङले जानकारी दिए ।