मलंगवा – कोरोना भाईरसको दोस्रो चरण अन्तर्गत सर्लाहीमा बुधबार दिउँसो थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाईरसबाट मृत्यु हुने सर्लाहीका ५२ जना पुगेका छन् । यसअघि पनि ५२ जना पुगिसके पनि बागमती नगरपालिका–८ मा एउटै व्यक्तिको दोहोरो तथ्यांक संकलन भएकाले बागमती नगरपालिकामा मृत्यु हुनेको संख्या घटेको छ । जसअनुसार हालसम्म सर्लाहीमा कोरोना संक्रमणबाट मृत्यु हुने ५२ जना पुगेका छन् ।
बुधबार दिउँसो मलंगवा नगरपालिका–२ निवासी ६५ वर्षीया एक महिलाको मृत्यु भएको हो । उनको सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालमा उपचार गर्दा गर्दै बुधबार दिउँसो साँढे २ बजे मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
यसअघि मंगलबार राती तथा बुधबार बिहान गरी थप ४ जनाको मृत्यु भएको थियो । ईश्वरपुर नगरपालिका–३ का ५८ वर्षीया महिलाको नारायणी अस्पताल वीरगंजमा उपचार गर्दागर्दै मृत्यु भएको छ । त्यस्तैं ईश्वरपुर नगरपालिका–१५ का २६ वर्षीय युवकको प्रादेशिक अस्पताल जनकपुर, लाबन्दी नगरपालिका–५ का ५५ वर्षीय पूरुषको सिन्धुली अस्पताल र ब्रम्हपुरी गाउँपालिका–६ का ५५ वर्षीय पुरुषको सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालमा मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
सर्लाहीमा हालसम्म ११ सय ५० जनाभन्दा बढीमा कोरोना भाईरस संक्रमण देखिएको छ भने त्यसमध्ये ४५ जना संक्रमण मुक्त भएका छन् ।