logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

कोरोनाबाट सर्लाहीकी २२ वर्षीया युवती देखि ७५ वर्षीय वृद्ध सहित चारजनाको मृत्यु


  • उज्यालो अभियान

मलंगवा – सर्लाहीमा दोश्रो चरणमा फैलिएको कोरोना भाईरस संक्रमणबाट आज (आईतबार)मात्र चारजनाको मृत्यु भएको छ । सर्लाही भित्रै उपचार गराईरहेका एवं सर्लाही घर भई बाहिर उपचार गराउँदै गरेका गरी चारजनाको मृत्यु भएको हो । योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेमा सर्लाहीका ४२ जना पुगेका छन् ।

जिल्ला प्रशासन कार्यालय मलंगवाका अनुसार लालबन्दी नगरपालिका–१७ रानिगंज निवासी २२ वर्षीया एक युवतीको सिन्धुली अस्पतालमा उपचार गराउँदा गराउँदै आईतबार बिहान ८ बजे मृत्यु भएको छ । त्यस्तै बरहथवा नगरपालिका–५ निवासी एक ३० वर्षीय पुरुषको आईतबार दिउँसो ३ बजे मृत्यु भएको प्रशासन कार्यालयले जनाएको छ । सर्लाही जिवन हेल्थ केयरमा स्वाब दिएर परीक्षण गराउँदा कोरोना नेगेटिभ देखिएपछि उनी होम आईसोलेसनमा बसेका थिए ।

त्यस्तै लालबन्दी नगरपालिका–१४ निवासी ५३ वर्षीय एक पुरुषको पनि घरमै मृत्यु भएको छ । लालबन्दी प्राथमिक स्वास्थ्य केन्द्रमा परीक्षण गराउँदा उनमा कोरोना पोजेटिभ देखिएको थियो । त्यसैगरी चक्रघट्टा गाउँपालिका–६ निवासी ७५ वर्षीय वृद्धको पनि कोरोना संक्रमणबाट मृत्यु भएको छ । नारायणी अस्पताल वीरगंजमा उपचार गर्दागर्दै ती पुरुषको आईतबार मृत्यु भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

त्यस्तै प्रशासनको तथ्यांक अनुसार सर्लाहीमा पछिल्लो २४ घण्टामा ५१ जना नयाँ कोरोना संक्रमति थपिएका छन् । योसँगै सर्लाहीमा हालसम्म संक्रमित हुनेको संख्या ९५३ पुगेको छ ।

जिल्लाका हरेक पालिकामा फोन गरेर सोध्दै तथ्यांक संकलन गर्नुपर्ने र कतिपय पालिकाका सम्बन्धित कर्मचारीसँग सम्पर्क नै नहुने लगायत समस्याले पछिल्लो तथ्यांक सार्बजनिक गर्न समस्या भईरहेको जिल्ला प्रशासन कार्यालयका एक कर्मचारीले बताए । त्यस्तै कोरोना भाईरस संक्रमणमुक्त कतिजना भए भन्ने तथ्यांक पनि सार्बजनिक हुन सकेको छैन ।