केही दिनअघि सासापुर स्वास्थ्य चौकीमा थ्रोट स्वाब संकलन गरिँदै । (फाईल तस्बिर)
हरिवन – सर्लाहीको हरिवनमा आज (वुधवार) ५४ जनाको थ्रोट स्वाब सङ्कलन गरिएको छ ।
कोरोना भाइरसको सङ्क्रमण रहे÷नरहेको परीक्षणका लागि थ्रोट स्वाब सङ्कलन गरिएको हो । कोरोना सङ्क्रमणसँग मिल्ने लक्षण देखिएका व्यक्ति र डाक्टरहरुले परीक्षण गराउन सिफारिस गरेका बिरामीहरुको स्वास्थ्य चौकी सासापुर परिसरमा स्वाब सङ्कलन गरिएको हरिवन नगरपालिकाका प्रमुख गणेश प्रसाद प्रसाईले उज्यालो अभियानकर्मी जनार्जन खत्रीसँग बताए ।
हरिवन नगरपालिकाले सासापुर स्वास्थ्य चौकी र हरिवनस्थित जीवन हेल्थ केयरमा गरी अक्सीजनको सुविधासहित सय बेडको आइसोलेसन तयार पारिसकेको छ ।
सङ्क्रमण नियन्त्रण गर्न अन्य पालिकाहरुले बेवास्ता गरेको गुनासो आइरहँदा हरिवन नगरपालिकाले भने जिल्लामा निषेधाज्ञा लागूहुनु अघिनै नगरभित्र निषेधाज्ञा जारी गरेको थियो ।
उता, बागमती नगरपालिकामा पनि वुधवार ७१ जनाको थ्रोट स्वाब सङ्कलन गरिएको छ । गत आइतवार थ्रोट स्वाब सङ्कलन गरी परीक्षण गर्दा सङ्क्रमित पाइएका व्यक्तिको सम्पर्कमा आएका र लक्षण देखिएका व्यक्तिहरुको महेन्द्र जनता मावि कर्मैया परिसरमा स्वाब सङ्कलन गरिएको बागमती नगरपालिकाको स्वास्थ्य शाखाका सहसंयोजक पद्म रायमाझीले उज्यालो अभियानकर्मी खत्रीसँग भने ।
हरिवन र बागमती दुवै स्थानमा सङ्कलन गरिएको थ्रोट स्वाब परीक्षणका लागि सदरमुकाम मलङ्गवास्थित जिल्ला अस्पतालको पीसीआर प्रयोगशालामा पठाइएको छ । बागमतीमा आइतवार २६ जनाको स्वाब परीक्षण गर्दा १४ जनामा कोरोना सङ्क्रमण पाइएको थियो ।