सर्लाहीको हरिवन नगरपालिकाले अक्सिजन सुविधानसहित तयार पारेको आइसोलेसन ।
बलरा – सर्लाहीको दक्षिण–पश्चिम भेगमा आइसोलेसन तयार पार्न मंगलवार जिल्लाका प्रमुखहरुले निरीक्षण गरेका छन् ।
बलरा र गोडैता नगपालिका तथा विष्णु, रामनगर, धनकौल, बसबरिया, चक्रघट्टालगायतका गाउँपालिकाका कोरोना संक्रमितहरुलाई राख्नका लागि पायक पर्ने गरी आइसोलेसन निर्माणका निम्ती जिल्लाका प्रमुखहरुले निरीक्षण गरेका हुन् । आफूहरुले गोडैता, बत्रौल, सीमरा फेन्हरा, मधुवनगोठ, गडहीयालगायतका स्थानमा अस्पताल तथा विद्यालय भवनहरुको निरीक्षण गरेको जिल्ला समन्वय समिति सर्लाहीका सभापति मेथुर चौधरीले बताए ।
उनले पश्चिमी भेगका लागि निरीक्षण गरिएका जुन ठाउँ पायक र उपयुक्त हुन्छ, त्यहीँ आइसोलेसन तयार पारिने उज्यालो अभियानसँग भने । आइसोलेसन भवन हेर्नका लागि जिल्ला समन्वय समितिका सभापति चौधरी, प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ, अन्य सुरक्षा अंगका प्रमुख र पश्चिमी भेगका सबै पालिका प्रमुखहरु सहभागी थिए ।
कोरोना संक्रमित र संक्रमणसँग मिल्दोजुल्दो लक्षण भएका बिरामी बढेपछि जिल्लामा अहिले धमाधम आइसोलेसनहरु तयार पार्न थालिएको छ । जिल्लाको उत्तरी भेगका पालिकाहरु आइसोलेसनको तयारीमा जुटेपनि एमबीबीएस डाक्टरको व्यवस्था नरहेको दक्षिणी भेगका ग्रामीण पालिकाहरुलाई भने आइसोलेसन तयार गर्न समस्या भइरहेको छ ।
बलरा नगरपालिकाका मेयर अभयकुमार सिंहले अहिले पनि प्रत्येकजसो घरमा ज्वरो, रुघाखोकी, घाँटी दुख्नेजस्ता समस्या बिरामीहरु रहेका हामीलाई जानकारी दिए ।