logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

मलंगवाको ल्याबमा ९१ जनाको स्वाब जाँच गर्दा ५१ जना संक्रमित, स्वास्थ्य कार्यालयका प्रमुख पनि बिरामी


  • उज्यालो अभियान

मलंगवा – सर्लाहीमा कोरोना भाइरस परीक्षण गरिएकामध्ये आधा भन्दा बढीमा संक्रमण देखिन थालेको छ ।

जिल्ला अस्पताल मलंगवाको ल्याबमा सोमवार राती ९१ जनाको पीसीआर परीक्षण गर्दा ५१ जनामा संक्रमण पाइएको ल्याब टेक्नोलोजिष्ट रवीन्द्र रानाभाटले उज्यालो अभियानलाई जानकारी दिएका छन् ।

अस्पतालमा बैशाख १७ गतेदेखि पीसीआर प्रयोगशाला सञ्चालनमा आएसँगै परीक्षणको दायरा बढाउँदै लगिएको छ । अहिलेसम्म ५२५ जनाको पीसीआर परीक्षण गरिसकिएको ल्याब टेक्नोलोजिष्ट रानाभाटले बताए ।

सर्लाहीमा मंगलवार बिहानसम्म दोस्रो चरणमा फैलिएको कोरोना संक्रमणबाट ३७० जना संक्रमित भएका छन् । त्यसमध्ये सात जनाको ज्यान गइसकेको छ ।

पछिल्लो पटक सोमवार बलरा नगरपालिका–३, का थप एक जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या सात पुगेको स्वास्थ्य कार्यालय मलंगवाका प्रमुख श्रवणकुमार नायकले बताए ।

स्वास्थ्य कार्यालय प्रमुख नायक आफै पनि केही दिनदेखि बिरामी परेका छन् । ज्वरो र अन्य समस्या देखिएपनि आफूले कार्यालयमै आइसोलेटेड भएर काम गरिरहेको नायकले बताए ।