सर्लाहीको बागमतीस्थित बागमती नदीको ड्याम ।
बागमती – राष्ट्रिय गौरवको आयोजना सुनकोसी–मरिन डाइभर्सनको वाग्मती नदी क्षेत्रको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) को काम थालिएको छ ।
यसका लागि आयोजनाले परामर्शदाताको छनोट थालेको हो । सुनकोसीतर्फ काम सुरु भए पनि वाग्मती क्षेत्रमा भने डीपीआर तयार गर्न परामर्शदाता छनोटको काम अघि बढेको वाग्मती सिँचाइ आयोजना कर्मैयाका प्रमुख मित्र बरालले बताए ।
‘सर्लाही, रौतहटतर्फको जीर्णोद्धार, मर्मतसम्भार र कमान्ड एरियाको विकासका लागि कन्सलटेन्ट खरिद प्रक्रिया अघि बढिसकेको छ,’ उनले भने, ‘अब चाँडै परामर्शदाता छनोट गरेर काम अघि बढाउँछौं ।’ सुनकोसीको पानी डाइभर्सनपछि मरिन नदीमा मिसाउन कमलामाई २ कुसुमटार फाँटमा खसालिनेछ । त्यसपछि मरिण नदी हुँदै ४२ किलोमिटर दूरीमा रहेको सर्लाही र रौतहटको सीमास्थित वाग्मती बाँधमा ल्याई सिँचाइ सुविधा बढाउने लक्ष्य छ ।
आयोजना प्रमुख बरालका अनुसार सर्लाही र रौतहटमा पानी पुगेपछि महोत्तरी, बारा, धनुषा लगिने गरी डीपीआर तयार हुँदै छ । आयोजना सम्पन्न गर्न सुनकोसीतर्फ ४६ अर्ब रुपैयाँ लाग्ने उनले जनाए । रौतहटतर्फ अनुमानित लागत ३७ अर्ब ३२ करोड रुपैयाँ छ । डीपीआर तयार भएपछि लागतमा थपघट हुने उनको भनाइ छ ।
वाग्मतीमा पानीको बहाव कम हुँदै गएपछि सर्लाही र रौतहटका किसानले समयमा सिँचाइ पाउन सकेका छैनन् । अहिले वाग्मती सिँचाइ आयोजनाबाट सर्लाही र रौतहटको ४५ हजार हेक्टरमा मात्र सिँचाइ हुन्छ । हिउँदका बेला खेतमा पानी नपुगेर बाली सप्रिन नसकेको किसानको गुनासो छ । वाग्मतीको क्षमता १ लाख २२ हजार क्युसेक छ । वाग्मती सिँचाइ आयोजनाले नदीमा झन्डै ८ सय मिटर लामो ढोके पुल बनाई नहरमा पानी सप्लाई गर्दै आएको छ । आयोजना सम्पन्न भएपछि थप ७६ हजार हेक्टरमा सिँचाइ सुविधा पुग्नेछ ।
सुनकोसीको पानी मरिनमा लिफ्ट गरी विद्युत् उत्पादन गर्ने सरकारको लक्ष्य रहेको प्रमुख बरालले बताए । डाइभर्सनको पानीबाट २८ दशमलव ८ मेगावाट विद्युत् उत्पादन हुने जनाइएको छ । आयोजनाको मूल उद्देश्य सिँचाइ सुविधा बढाउनु हो ।
कान्तिपुर दैनिकबाट साभार