मलंगवा – सर्लाहीको जिल्ला अस्पताल मलंगवाको पीसीआर ल्याबमा ९४ जनाको थ्रोट स्वाब परीक्षण गर्दा ४७ जनामा कोरोना संक्रमण पाइएको छ ।
ज्वरो लगायत कोरोनासँग मिल्ने लक्षण भएकाहरुले अस्पतालमा आएर दिएको स्वाबको परीक्षण गरिएको हो । निःशुल्क परीक्षण हुने भएकाले पछिल्ला दिनमा जिल्ला अस्पतालमा पुगेर स्वाब दिनेहरु बढेका छन् । अस्पतालमा आज पनि ७२ जनाले स्वाब दिएका छन् ।
आजको ७२ र हिजोको ९ जनाको स्वाब जाँच गर्नै बाँकी रहेको पीसीआर ल्याबमा खटिएका ल्याब टेक्निसियन रवीन्द्र रानाभाटले उज्यालो अभियानसँग बताए । पीसीआर मेसिन चलाउन अझै १३ जनाको स्वाब आवश्यक भएकाले अब भोली थप स्वाब लिएर मेसिन चलाइने रानाभाटले बताए ।
मलंगवामै पीसीआर जाँच हुन थालेपछि अहिले कोरोनाको शंका लागेकाहरुले अस्पतालमा पुगेर धमाधम परीक्षण गराइरहेका छन् । सर्लाहीमा दोस्रो चरणमा फैलिएको कोरोना संक्रमणबाट १५५ जना संक्रमित भएका छन् भने ४ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य कार्यालय मलंगवाका प्रमुख श्रवणकुमार नायकले आज जिल्लाका विभिन्न स्थान, प्रदेश तथा केन्द्रमा भएको परीक्षण अन्तिम रिपोर्ट भोली बिहान मात्रै आउने उज्यालो अभियानलाई जानकारी दिए ।