मलंगवा – सर्लाहीको जिल्ला अस्पताल मलंगवामा जडान गरिएको पीसीआर ल्याबमा आज २८ जनाको थ्रोट स्वाब परीक्षण गरिएको छ ।
२८ जनाको स्वाब जाँच्दा १४ जनामा कोरोना संक्रमण पाइएको अस्पतालका प्रमुख एवं वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सन्जिव कुमार सिंहले जानकारी दिए । ल्याबमा आजै ९४ जनाको स्वाब जाँच भइरहेको र यसको रिपोर्ट भोली दिउँसो मात्रै आउने डा. सिंहले बताए ।
यस्तै, अस्पतालमा आज ४९ जनाले स्वाब दिएका जिल्ला अस्पताल मलंगवाले जनाएको छ । जिल्ला अस्पतालमा पीसीआर ल्याब संचालन भएपछि अहिले परीक्षण बढाउँदै लगिएको छ । तर जिल्लाभर नै ज्वरो र कोरोना संक्रमणसँग मिल्ने लक्षण भएका बिरामीहरु बढेपनि व्यापक परीक्षण भने हुन सकेको छैन् ।
अत्यधिक ज्वरो आएर ४ जनाको ज्यान गएको सीमावर्ती क्षेत्र बलराका वासिन्दाले भने परीक्षण गराउन अस्वीकार गरेका छन् । त्यहाँ समुदाय स्तरमा धेरै ज्वरो पाइएपछि सेम्बोलिक रुपमा २ सय जनाको स्वाब लिएर परीक्षण गराउने तयारी गरेपनि ४३ जनाले मात्रै स्वाब दिन मानेका र त्यसमध्ये ११ जनामा संक्रमण पाइएको स्वास्थ्य कार्यालय मलंगवाका प्रमुख श्रवणकुमार नायकले बताए ।
उनले अहिले जिल्लाभर नै ज्वरोका बिरामी बढेका बताए । चिकित्सकहरुले यो समयमा मौसम परिवर्तन समेत भइरहेकाले ज्वरो आउँदैमा नआत्तिन तर डाक्टरहरुलाई देखाउन सुझाव दिइरहेका छन् ।
स्वास्थ्य कार्यालयको रेकर्ड अनुसार सर्लाहीमा आज बिहानसम्म दोस्रो लहरको कोरोना संक्रमणबाट ४ जनाको ज्यान गएको छ भने १४० जना संक्रमित भएका छन् ।