मलंगवा – सर्लाहीमा पनि सुक्रवारबाट पीसीआर परीक्षण गर्न सुरु गरिएको छ ।
जिल्ला अस्पताल मलंगवामा पीसीआर परीक्षण सुरु भएको हो । सुक्रवार बिहान प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहको प्रमुख आतिथ्यतामा पीसीआर प्रयोगशालाको उद्घाटन गरिएको जिल्ला अस्पताल मलंगवाले जनाएको छ ।
कोरोना परीक्षणका लागि प्रदेश सरकारले दुई महिनाअघि नै जिल्ला अस्पताललाई पीसीआर मेसिन प्रदान गरेको थियो । दोस्रो चरणमा संक्रमण बढ्दै गएपछि जिल्लामै परीक्षणको व्यवस्था मिलाउन सो पीसीआर प्रयोगशाला सञ्चालनमा ल्याइएको हो ।
प्रयोगशाला सञ्चालनका निम्ती केही दिनलाई प्रदेशबाटै तीन जना ल्याब टेक्नोलोजिष्ट पठाइएको जिल्ला अस्पताल मलंगवाका वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डाक्टर सन्जिव कुमार सिंहले जानकारी दिए । पीसीआर प्रयोगशालामा सुरुवाती चरणमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएका बिरामी, पीसीआर अतिआवश्यक परेकाहरु र कैदीबन्दीहरुलाई प्राथमिकता दिएर परीक्षण गरिने अस्पतालले जनाएको छ ।
आम सर्वसाधारणको भने तत्कालै परीक्षण नगरिने डा. सिंहले बताए । प्रयोगशालामा एक पटकमा न्यूनतम ९६ जनाको थ्रोट स्वाब परीक्षण गरिने अस्पतालमा कार्यरत डा. रवि कुमार साहले बताए ।
जिल्ला अस्पतालमै प्रयोगशाला सञ्चालनमा आएसँगै अब सर्लाहीमा संकलन गरिएको थ्रोट स्वाब पीसीआर जाँच गर्न जनकपुर वा वीरगञ्ज पठाउनुपर्ने बाध्यता अन्त्य भएको छ । छिमेकी जिल्लाहरुमा कोरोना परीक्षण तीव्र भएपनि सर्लाहीमा भने अहिलेसम्म परीक्षण नै हुन सकेको थिएन् ।
यस्तै, जनस्वास्थ्यका मापदण्ड पालना गराउन मुख्य जिम्मेवार स्थानीय पालिकाहरुले अझै चासो देखाएका छैनन् । जिल्लाका बजार क्षेत्रदेखि ग्रामीण भेगसम्म नै अत्यन्त भीडभाड गरेर हाटबजार लगाउने क्रम चलिरहेको छ ।
यसैगरी, दक्षिणी भारतीय सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले कडाई गर्दा गर्दै पनि खेतबारी र खोला खोल्सीको बाटो हुँदै मानिसहरुको नेपाल–भारत दुवैतर्फ आवतजावत भइरहेको छ ।