logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

मलंगवामा ३६ जनाको थ्रोट स्वाब संकलन, एक जनाको एन्टिजेन पोजिटिभ


  • उज्यालो अभियान

।

मलंगवा – कोरोना भाईरसको संक्रमण रहे/नरहेको परीक्षणका लागि हिजो (आइतवार) सर्लाही सदरमुकाम मलंगवामा ३६ जनाको थ्रोट स्वाब अर्थात् खकारको नमूना संकलन गरिएको छ ।

बैशाख ८ गते गम्भीर बिरामी परेर वीरगन्ज उपचार गर्न जाँदा कोरोना संक्रमण पुष्टी भई मृत्यु भएका मलंगवा नगरपालिका वडा नं. ३ निवासी ४२ वर्षीय पुरुषको परिवारका सदस्य र उनको सम्पर्कमा आएका अर्थात् कन्टयाक टे«सिङमा परेकाहरुको स्वाब लिइएको हो ।

थ्रोट स्वाब लिइएका सबै जनाको किटमार्फत एन्टिजेन विधीबाट समेत कोरोना परीक्षण गर्दा एक जनाको पोजिटिभ रिपोर्ट आएको स्वास्थ्य कार्यालय मलंगवाले जनाएको छ । एन्टिजेन पोजिटिभ आएका र अरु समेत गरी ३६ जनाकै स्वाब पीसीआर परीक्षण गरी कन्फर्म हुन आइतवार दिउँसो नै वीरगन्ज पठाइएको स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख श्रवणकुमार नायकले बताए ।

उनका अनुसार स्वाब संकलन गरिएका सबै जनालाई सेल्फ क्वारेन्टिनमा बस्न भनिएको छ । दोस्रो चरणमा कोरोना संक्रमण फैलिएपछि सर्लाहीमा आइतवार पहिलो पटक स्वाब संकलन भएको हो ।

कोरोना संक्रमणबाट जिल्लामा चार दिनको अवधीमा २ जनाले ज्यान गुमाइसकेका छन् । बैशाख ८ गते मलंगवामा एक जना र शनिवार रामनगर गाउँपालिकामा ३२ वर्षीय अर्का एक जना पुरुषको ज्यान गएको हो ।

स्वास्थ्य कार्यालय प्रमुख नायकले घरमै रहेका व्यक्तिहरुमा यसरी कोरोना संक्रमण पुष्टी भई मृत्यु भएको घटनाले समुदायमा अहिले भित्रभित्रै संक्रमण पैलिइसकेको छ की ? भन्ने डर रहेको बताए । उनले खुल्ला सीमाको खेतबारी हुँदै दैनिक भारतबाट सयौँ मानिस आउजाउ गरिरहेका तथा चोक, बजार र सडकमा मास्क समेत नलगाइ मानिसहरु हिँडिरहेकाले आगामी दिनमा यसको नतिजा अत्यन्त खराब आउन सक्ने खतरा औल्याए ।

यसैबीच, स्वास्थ्य कार्यालय मलंगवाले कोरोना संक्रमण पुष्टी भई मृत्यु भएका व्यक्तिहरुको शव व्यवस्थापन गर्न खटिने नेपाली सेनाका लागि आइतवार ५० थान पी.पी.ईं प्रदान गरेको छ । लालबन्दी नगरपालिका–२, नवलपुर पाँचकुमारीस्थित नेपाली सेनाको भैरवी दल गणलाई उक्त व्यक्तिगत स्वास्थ्य सुरक्षा सामग्री पी.पी.ई. प्रदान गरिएको हो ।

गणलाई यसअघि अस्ती शनिवार पनि २० थान पी.पी.ई दिइएको थियो । मलंगवा र रामनगर दुवै ठाउँका मृतकको शव सेनाको टोलीले नै सरकारले बनाएको प्रोटोकल अनुसार अन्त्येष्टि गरेको थियो ।