नवनिर्वाचित कार्य समितिका अध्यक्ष टंकबहादुर क्षेत्रीलाई महासंघको कागजात हस्तान्तरण गर्दै निवर्तमान अध्यक्ष विश्वनाथ ठाकुर । (तस्बीर : उज्यालो अभियान)
मलंगवा – नेपाल पत्रकार महासंघ सर्लाही शाखाका नवनिर्वाचित कार्य समितिका पदाधिकारीहरुको आइतवार सदरमुकाम मलंगवामा पदस्थापन कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला समन्वय समितिको सभा हलमा आयोजित कार्यक्रममा महासंघका निर्वतमान अध्यक्ष विश्वनाथ ठाकुरले नवनिर्वाचित कार्य समितिका अध्यक्ष टंकबहादुर क्षेत्रीलाई नेतृत्व हस्तान्तरण गरेका छन् । सो अवसरमा निवर्तमान अध्यक्ष ठाकुरले निर्विरोध चयन भएको क्षेत्री नेतृत्वको कार्य समितिलाई बधाई एवं शुभकामना व्यक्त गरे ।
ठाकुरकै अध्यक्षता तथा जिल्ला समन्वय समितिका सभापति मेथुर चौधरीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समितिकी उपप्रमुख जमुना पौडेल, मलंगवा नगरपालिकाका मेयर निरसल साह, प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ, एमालेका जिल्ला अध्यक्ष रेवती पन्त, जसपाका जिल्ला अध्यक्ष वीरेन्द्र राय, नेपाली काँगे्रसका जिल्ला कार्य समितिका सदस्य जयप्रकाश मल्लिकलगायतले मन्तव्य राखे । उनीहरुले पनि कार्य समितिका पदाधिकारीहरुलाई सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
कार्यक्रममा नवनिर्वाचित अध्यक्ष क्षेत्रीले आफू पत्रकारहरुको छाता संगठनको जिल्ला अध्यक्षमा रहुन्जेल पत्रकारहरुको हित र विकासमा काम गर्ने प्रतिवद्धता जनाए । उनले गलत मनासय राखेर पित पत्रकारिता गर्ने, तर्साउने, धम्काउने काम गर्न खोज्ने पत्रकारको कहिल्यै पनि पक्षपोषणा नगर्ने तर श्रमजीवी पत्रकारहरुलाई कुनै सारोगाह्रो तथा अप्ठेरो पर्दा सहयोग गर्ने बताए ।
पदस्थापन पश्चात आइतवार साँझ अबेर नवगठित कार्य समितिको पहिलो बैठक बसेको छ । बैठकले शान्तपूर्ण ढंगले निर्वाचन प्रक्रिया पूरा गरेर नेतृत्व हस्तान्तरण गरेकोमा सबैप्रति धन्यवाद ज्ञापन गर्दै मलंगवास्थित जिल्ला समन्वय समितिको कार्यालय छेउमा पत्रकार महासंघलाई उपलब्ध गराइएको अधूरो भवनको निर्माण कार्य पूरा गर्न पहल गर्ने निर्णय गरेको नवनिर्वाचित कार्य समितिका सचिव सुनिल ठाकुरले जानकारी दिए ।
निवर्तमान कार्य समितिका सह–सचिव सत्यप्रकाश यादव (एसपी) ले स्वागत मन्तव्य राखेको कार्यक्रमको संचालन निवर्तमान कार्य समितिका सचिव सिंहबहादुर थापा (श्रवण) ले गरेका थिए ।