logo
  • शनिबार, कार्तिक १५, २०८३ / Saturday, Oct, 31 ,2026

सर्लाहीका तीन इन्स्पेक्टर फेरिए


  • उज्यालो अभियान

जिल्ला प्रहरी कार्यालय सर्लाही ।

मलंगवा – सर्लाहीका तीन जना प्रहरी निरीक्षक (इन्स्पेक्टर) को सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयले सुक्रवार साँझ नेपाल प्रहरीका ३६६ जना इन्स्पेक्टरको एकसाथ सरुवा गर्दा हरिपुर र बयलवासमा रहेका ईलाका प्रहरी कार्यालय र मलंगवामा रहेको जिल्ला प्रहरी कार्यालयमा कार्यरत एक जना प्रहरी निरीक्षक फेरिएका हुन् ।

ईलाका प्रहरी कार्यालय हरिपुरका प्रमुख एवं प्रहरी निरीक्षक बिक्रम साहको जिल्ला प्रहरी कार्यालय जलेश्वर, महोत्तरीमा सरुवा भएको छ । उनको ठाउँमा महानगरीय प्रहरी परिसर काठमाण्डौं अन्तर्गत महिला, बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्रमा कार्यरत बेदप्रसाद पौडेल आउने भएका छन् ।

यस्तै, बयलवासमा रहेको ईलाका प्रहरी कार्यालय केशरगञ्जका प्रमुख एवं प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङको जिल्ला प्रहरी कार्यालय म्याग्दी सरुवा भएको छ भने बयलवासमा महानगरीय प्रहरी परिसर काठमाण्डौंबाट जनकराज ढुंगाना आउने छन् । प्रहरी निरीक्षक साह र गुरुङ एक वर्ष भन्दा बढी समयदेखि यहाँ कार्यरत थिए ।

सामान्यतया एक वर्ष पुगेपछि सुरक्षा अधिकारीहरुको सरुवा हुन्छ । यस्तै जिल्ला प्रहरी कार्यालय मलंगवामा कार्यरत प्रहरी निरीक्षक दीपक चोरवारको एक वर्ष नपुगी २ नं. प्रदेश दंगा नियन्त्रण प्रहरी गण गुल्म नं. १ जनकपुर सरुवा भएको छ ।

उनको स्थानमा केही महिनाअघि देखि जिल्ला प्रहरी कार्यालय मलंगवामै आएर कार्यरत प्रहरी निरीक्षक जटाशंकर यादवको यहीँ दरबन्दी कायम भएको छ । यादवको यसअघि दंगा नियन्त्रण गुल्म जनकपुरमा दरबन्दी रहेको थियो ।