बलरा – सर्लाहीको दक्षिण–पश्चिम भेगमा पर्ने बलरामा शनिवार दिउँसो आगलागी हुँदा तीनवटा घर जलेर नष्ट भएका छन् ।
बलरा नगरपालिका वडा नं. ४ का बिकाउ सहनीको घरमा चुल्होबाट सल्किएको आगोले उहाँ र उहाँका दुई छिमेकीको घर जलेर खरानी भएको हो । आगलागीबाट बिकाउ सहनी, जयन सहनी र श्यामाकान्त झाको घर पूर्णरुपमा जलेको स्थानीयवासी अभिषेक सिंहले जानकारी दिए ।
आगोले छिमेकका अन्य केही घरमा समेत सामान्य क्षति पुगेको छ । तीव्र गतिमा हावा चलिरहेका बेला दिउँसो ३ बजेतिर आगलागी भएको हो । गाउँले, मलङ्गवा नगरपालिकाबाट गएको दमकल, सीमा प्रहरी चौकी बलरा र प्रहरी चौकी अर्नाहाबाट खटिएका नेपाल प्रहरी तथा बोर्डर आउट पोष्ट छतौनाबाट खटिएका सशस्त्र प्रहरीको सहयोगमा आगलागी नियन्त्रणमा आएको स्थानीयवासी सिंहले बताए ।
आगलागी भएको स्थल, सदरमुकाम मलङ्गवाबाट झण्डै २८ किलोमिटर पश्चिमतर्फ पर्छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले आगलागीबाट १० लाख ९० हजार रुपैयाँ बराबरको क्षति भएको जनाएको छ ।
सुक्खापन र हावाहुरीले गर्दा अहिले आगलागीको जोखिम धेरै भइरहेकाले सावधानी अपनाउन प्रहरीले आग्रह गरेको छ ।