सांकेतिक तस्बिर ।
मलंगवा – सर्लाहीमा हिजोआज मोटरसाइकल दुर्घटना बढिरहेका छन् ।
तीव्र गति, सवारी र मानिसको अत्यधिक चाप, भित्री ग्रामीण सडक धूलाम्मे हुनु, मदिरा सेवन गरी चलाउनु लगायतका कारणले दुर्घटना बढ्दै गएका हुन् । आइतवार साँझ र दिनभर जिल्लाका विभिन्न ठाउँमा भएका बेग्लाबेग्लै मोटरसाइकल दुर्घटनामा परी ६ जना घाईते भएका छन् ।
कौडेना गाउँपालिका ४ मोतिपुरमा बा १७ प ५२४२ नम्वरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्री सोही ठाउँका ४५ वर्षीय रामेश्वर साह घाईते भएका छन् । घाईते साहलाई जिल्ला अस्पताल मलंगवामा सामान्य उपचारपश्चात थप उपचार गर्न वीरगञ्ज पु¥याइएको छ ।
यस्तै बरहथवा नगरपालिका ८ टाँडीमा हीरापुरबाट बरहथवातर्फ आइरहेको बा ५९ प ४३१९ नम्वरको मोटरसाइकलले बाटो काट्ने क्रममा ठक्कर दिँदा त्यहीँका स्थानीय पैदल यात्री ४५ वर्षीय किरण मल्ली र मोटरसाइकल चालक बरहथवा नगरपालिका १३ बसबरिया बस्ने ४२ वर्षीय रामनारायण राम घाईते भएका छन् । दुवै जनाको बरहथवामा उपचार चलिरहेको छ .।
यसैगरी ईश्वरपुर नगरपालिका ६ क्याम्पस चौकमा फुलजोरबाट बयलवासतर्फ गइरहेको र विपरीत दिशाबाट आइरहेको दुईवटा मोटरसाइकल ठोक्किँदा ३ जना घाईते भएका छन् । दुर्घटनामा ज ६ प १८६६ नम्वरको मोटरसाइकलका चालक ईश्वरपुर नगरपालिका ५ का २१ वर्षीय राजेश कुमार महतो, ना ४९ प ३७२८ नम्वरको मोटरसाइकलका चालक सोही ठाउँका २१ वर्षीय प्रसिद्ध आले मगर र मगरले नै चलाएको मोटरसाइकल पछाडि सवार २४ वर्षीय सन्जिव राना मगर घाईते भएका छन् ।
घाईते तीन जनामध्ये राजेशको बयलवासमा उपचार चलिरहेको छ भने प्रसिद्ध र सन्जिवलाई थप उपचारका लागि काठमाण्डौं पठाइएको प्रहरीले जनाएको छ ।