logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

चोरीको आरोपमा दलित युवकमाथि निर्घात कुटपीट


  • उज्यालो अभियान

बयलवास – सर्लाहीको ईश्वरपुर नगरपालिका–९, मा चोरीको आरोपमा एक दलित युवकमाथि निर्घात कुटपीट भएको छ ।

वडाध्यक्ष अमिरीलाल साह सहितले ईश्वरपुरकै रामनगरका गोविन्द माझीलाई चोरीको आशंकामा निर्घात कुटपीट गरेको आरोप लागेको हो । युवकलाई अशोकको रुपमा बाँधेर मरणासन्न हुने गरी कुटपीट भएको मुसहर समुदायका अगुवा पाचु माझीले बताए । उनले निर्घात कुटपीटपछि युवकलाई गाउँलेहरुले प्रहरीमा बुझाएका बताए ।

युवकको अहिले बयलवासस्थित एक स्वास्थ्य संस्थामा उपचार चलिरहेको छ । घटनामा दोषी रहेका वडाध्यक्ष लगायतलाई कारवाहीको माग गर्दै हिजो (वुधवार) बयलवास बजारमा मुसहर समुदायले प्रदर्शन नै गरेका छन् ।

यता वडाध्यक्ष अमिरीलाल साहले भने नियन्त्रणमा लिने क्रममा युवकलाई गाउँले नै कुटपीट गरेका बताए । उनले कुटपीटमा आफ्नो कुनै संलग्नता नरहेको र गाउँलेहरुले चोरी गर्दागर्दैको सामान र युवकलाई सँगै प्रहरीमा बुझाएका दावी गरे ।

रामनगर क्षेत्रमा पछिल्लो समय चोरीका घटना बढ्दा स्थानीयहरु पीडित बनेका वडाध्यक्ष साहको भनाई छ । ईलाका प्रहरी कार्यालय केशरगञ्जले यस घटनाबारे अनुसन्धान भइरहेको र चोरी भएको भन्दै गाउँलेको तर्फबाट र कुटपीट भएको भन्दै युवक पक्षबाट उजुरी आएको जनाएको छ ।