कौडेना गाउँपालिकाको कार्यालय ।
कौडेना – सर्लाहीको कौडेनामा दुई समुदायबीचको विवाद तत्काललाई समाधान गरिएको छ ।
कौडेना गाउँपालिका–५, छपकहिया टोलमा शव दाह संस्कार गर्ने स्थलको जग्गाका विषयमा मुस्लिम र हिन्दु धर्मावलम्वीबीच केही दिनदेखि विवाद चर्किएको थियो । सोही क्रममा बिहिवार दोहोरो झडप हुँदा प्रहरी सहित ८ जना घाईते भएका थिए भने सुक्रवार पुनः झडपको स्थिति सिर्जना भएको थियो ।
निरन्तर असहज स्थिति सिर्जना भएपछि शनिवार जिल्लाबाट ४ जना अमिन पठाई जग्गा छुट्याएर तत्कालाई विवाद सल्टाइएको हो । विवादित स्थलमा पुगेका जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरीले हिन्दु र मुस्लिम समुदायको जग्गा छुट्याइएको र अबदेखि विवाद नगर्ने सहमति जुटाइएको बताए ।
उनले मलंगवाबाट दुई जना मुस्लिम अगुवा समेत त्यहीँ लगी, वडाध्यक्ष तथा दुवै समुदायका अगुवालाई राखेर जग्गाको नापजाँच गरिएको जानकारी दिए । अबदेखि अमिनले छुट्याएको १० कठ्ठा जग्गामा मुस्लिम समुदायले कब्रस्थानको रुपमा प्रयोग गर्ने र हिन्दु समुदायले ५ कठ्ठा भन्दा केही बढी जग्गा घाटको रुपमा प्रयोग गर्ने सहमति भएको जिल्ला समन्वय समितिका प्रमुख चौधरीले बताए ।