logo
  • बिहिबार, कार्तिक १३, २०८३ / Thursday, Oct, 29 ,2026

सर्लाहीमा आजबाट हटाइयो निषेधाज्ञा, सरकारी कार्यालय भोलीबाट खुल्ने


  • उज्यालो अभियान

सदरमुकाम मलंगवास्थित जिल्ला प्रशासन कार्यालय । (तस्बिर : उज्यालो अभियान)

मलंगवा – सर्लाहीमा आज (सोमवार) बाट निषेधाज्ञा हटाइएको छ ।

जिल्ला कोरोना सङ्कट व्यवस्थापन केन्द्रको बैठकले सोमवारबाट निषेधाज्ञा हटाउने निर्णय गरेको हो । निषेधाज्ञा हटाइए पनि यातायातका साधन भने तत्काल सञ्चालन गर्न अनुमति दिइएको छैन् ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलका अनुसार यातायातका साधन बन्द नै गर्ने र सोमवारबाट सार्वजनिक, सामुदायिक तथा निजी क्षेत्रबाट सेवा प्रवाह गर्ने कार्यालय, संस्था र निकाय खोल्न सकिने छ । सरकारी कार्यालयहरु भने भोली मंगलवारबाट मात्रै पालिका अनुसार आलोपालो गरी सेवा प्रवाह गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिए ।

सेवाग्राहीको धेरै भीडभाड हुने जिल्ला प्रशासन, ईलाका प्रशासन, नापी र मालपोत कार्यालयले सूचना निकालेर पालिका अनुसार बार तोकेर सेवा प्रवाह गर्ने प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । निरन्तर कार्यालयहरु बन्द गरिँदा जनजीवन नै प्रभावित भएपछि यो निर्णयमा पुगिएको प्रजिअ पौडेलको भनाई छ ।

सर्लाहीमा बैङ्क र वित्तीय संस्थाहरु भने अघिल्लो साताबाटै खुलिसकेका छन् । समुदाय स्तरमा कोरोनाको सङ्क्रमण पाइएपछि सर्लाहीमा गत साउन २६ गतेदेखि निषेधाज्ञा जारी गरिएको थियो ।