फाइल तस्बीर ।
मलंगवा, २७ असोज – बिहानैदेखि मौसम उघ्रिएकाले सर्लाहीका किसान आज पनि पाकेको धान काट्न ब्यस्त छन् ।
विगत ३ दिनदेखि मौसम अनुकूल हुँदा धान पाकिसकेको किसानलाई फटाफट धान काट्न थन्काउने चटारो परेको हो । कृषि ज्ञान केन्द्रका अनुसार बेलैमा रोपेको आस धान (भदैया) धान काट्ने बेला भएको छ ।
ढिलो पाक्ने धान भने दशैँ र तिहारको बिच तथा तिहारपछि मात्र काट्ने हुने किसानले बताएका छन् । मौसम सफा भएर उघ्रिएसँगै किसानले शुक्रबार राति र त्यसअघिको पानीमा भिजेको धानका पाँजा पनि भ्याइनभ्याइ गरेर सुकाएर थ्रेसर लगाइरहेको देखिन्छ ।
मौसममा सुधार आउँदा दशैँको तयारीस्वरुप घरआँगन, बाटोघाटो सरसफाई, बजार आउन, सरसजावटको काम गर्न पनि सहज भएको छ ।
अहिले सबैतिर तीव्र रुपमा दशैँको तयारी भइरहेको हाम्रा संवाददाताहरुले जनाएका छन् ।