वुद्धबहादुर विश्वकर्मा/परवानीपुर, २५ असोज – लालबन्दी नगरपालिका–१६, परवानीपुर भोर्लेनीका स्थानीयले आज गाउँको बाटोघाटो र चौतारो सरसफाई गरेका छन् ।
श्री ५ दीपेन्द्र सामुदायिक वन उपभोक्ता समितिको अगुवाईमा परवानीपुरदेखि पूर्वपश्चिम महेन्द्र राजमार्गस्थित रानिगन्ज निस्कने सडकको दायाँबायाँ रहेका झाडी बुट्यान फाँडेर सफा पारिएको वनका अध्यक्ष गंगाबहादुर श्रेष्ठले जानकारी दिए ।
आफूहरुले चाडपर्वको समयमा बर्सेनि यसरी सामूहिक रुपमा सरसफाई कार्यक्रम आयोजना गर्दै आइरहेको गाउँलेको भनाइ छ ।
बाटो तथा चौतारो परिसर सरसफाईमा गाउँका प्रत्येक घरधुरीसहित वनका अध्यक्ष श्रेष्ठ, सचिव दीपक कार्की, वडा सदस्य सन्चर सुनुवार, मिरेमिरे यूवा क्लबका अध्यक्ष सोनाम तामाङलगायतका अगुवासमेत सहभागी भएका छन् ।
सामुदायिक वन, यूवा क्लबलगायतको आयोजनामा परवानीपुरमा सरसफाईसँगै खेलकुद प्रतियोगिता आयोजना, स्थानीय विद्यालयलाई सहयोग, सडक बत्ती जडानलगायतका सामाजिक काम हुँदै आएका छन् ।