लालबन्दी, २५ असोज – सर्लाहीमा पनि आइतबारदेखि दुर्गा पूजाको भव्य सुरुवात गरिएको छ ।
दुर्गा पूजाको अवसरमा जिल्लाको २० वटै पालिकामा आज कलश यात्रा निकालिएको छ । सर्लाहीमा एक सय भन्दा बढी स्थानमा दुर्गा पूजा प्रारम्भ गरिएको छ ।
मन्दिर परिसर र चोकबजारमा दुर्गाको मूर्ति स्थापना गरी पूजा आरम्भ गरिएको हो । लालबन्दी नगरपालिका–७, डुमडुमेमा आयोजित दुर्गा पूजा समितिका अध्यक्ष शक्ति साहले आइतबार पहिलो दिन लालबन्दी बजार क्षेत्रमा भव्य कलश यात्रा निकालिएको जानकारी दिए ।
दुर्गा पूजाको अवसरमा लालबन्दी, हरिवन, ईश्वरपुर, मलङ्गवा, बरहथवासहित प्रमुख बजार क्षेत्र र गाउँगाउँमा कलश यात्रा निकालिएको स्थानीयले बताएका छन् । कलशयात्रामा पालिकाका प्रमुख, राजनीतिज्ञ, अगुवा, सुरक्षा अधिकारीसहित उल्लेख्यरुपमा स्थानीय वासिन्दा सरिक भएका छन् ।
दुर्गा पूजाको अवसरमा बसबरिया गाउँपालिका–४ र ५ मा पनि कलश यात्रा निकालिएको स्थानीय अरविन्द साहले बताए ।
नवरात्रभर चल्ने दुर्गा पूजालाई लक्षित गर्दै सर्लाहीमा सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी वेदप्रसाद गौतमले सुरक्षा अवस्था विश्लेषण गरेर दुर्गा पूजास्थलमा सुरक्षाकर्मी परिचालन हुने बताए ।
दुर्गा पूजाको मूर्ति विजयादशमीको भोलीपल्ट मात्र विसर्जन गरिने छ ।