लालबन्दी, २७ असोज – पूर्वपश्चिम राजमार्गस्थित लालबन्दीमा आयोजित कार्यक्रममा ६८ जनाले रक्तदान गरेका छन् ।
लायन्स क्लब अफ लालबन्दी सिटीको अगुवाईमा लालबन्दी ७ मा रहेको एनसेल सप अगाडि आयोजना गरिएको कार्यक्रममा ६८ पिन्ट रगत संकलन भएको क्लबका डिस्टिक चिफ राजकुमार न्यौपानेले जानकारी दिए । कार्यक्रममा विद्यार्थी, युवा, व्यवसायी, क्लबका पदाधिकारी, सामाजिक व्यक्तित्व, बजार भर्न आएका मानिसलगायतले रक्तदान गरेका छन् ।
लायन्स क्लब अफ लालबन्दी सिटी, लालबन्दी सिटी लियो क्लब र आइडिएल को-एड एकेडेमीले समन्वय गरेर रक्तदान कार्यक्रम आयोजना गरेका हुन् ।
कार्यक्रममा संकलित रगत रक्तसंचार केन्द्र जनकपुर पठाइएको लायन्स क्लब अफ लालबन्दी सिटीका अध्यक्ष अर्जुन गौतमले जानकारी दिए । उनका अनुसार हिजो बिहानदेखि गएसाँझ अबेरसम्म रक्तदान कार्यक्रम संचालन गरिएको हो ।