हरिवन, असार २६ – सर्लाहीको हरिवन नगरपालिकाले आज नगरभित्रका कृषि तथा पशुपंछी फर्म र सहकारी संस्थालाई भैँसी वितरण गरेको छ ।
५० प्रतिसत अनुदानमा २३ वटा उन्नत जात र मुर्रा क्रस भैँसी वितरण गरेको हो । शुक्रबार बिहान नगरपालिका कार्यालय परिसरमा २२ वटा कृषि तथा पशुपंक्षी फर्म र एउटा सहकारी संस्थालाई उन्नत जात र मुर्रा क्रस दुहुनो भैँसी हस्तान्तरण गरिएको छ ।

नगरपालिकाले टेण्डर प्रक्रियामार्फत भैँसी खरिद गर्दा एउटा भैँसीलाई एक लाख ७४ हजार ५०० रुपैयाँ परेको छ । उक्त रकम आधा लाभग्राही र आधा नगरपालिकाले बेहोरेका छन् ।
नगरप्रमुख बुढाथोकी, उपप्रमुख हरिमाया घलान, प्रमुख प्रशासकीय अधिकृत हेमराज फुँयाल, विभिन्न वडाका वडाध्यक्ष, शाखा प्रमुख, कर्मचारीलगायत भएर पशुपंक्षी फर्म तथा सहकारीलाई भैँसी हस्तान्तरण गरेका हुन् ।