मलंगवा, ०९ असार – राष्ट्रिय भूमि अधिकार मञ्च सर्लाहीले स्थानीय तहबाट जग्गा नापजाँच भइसकेका परिवारलाई तत्काल लालपुर्जा वितरण गर्न माग गरेको छ ।
मञ्चकी जिल्ला अध्यक्ष भवानी घिमिरेको नेतृत्वमा जिल्ला प्रशासन कार्यालय मलंगवा पुगेको टोलीले प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीमार्फत सरकारलाई ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेको हो । भूमिहिन सुकुम्वासीको लगत अर्थात् विवरण संकलन नभएका पालिकामा पनि तत्काल काम अघि बढाउन माग गरिएको छ ।

यस्तै भूमिहिन सुकुम्वासीलाई घरवाससँगै खेती गर्ने जग्गा समेत उपलब्ध गराउन र जिल्ला भूमि समस्या समाधान समितिमा राष्ट्रिय भूमि अधिकार मञ्चको पनि प्रतिनिधित्व हुने व्यवस्था गर्न माग गरिएको छ । सिडिओ सुवेदीलाई ध्यानाकर्षण बुझाउन मञ्चकी जिल्ला अध्यक्ष घिमिरेसहित पूर्व जिल्ला अध्यक्ष मदनबहादुर विश्वकर्मा, जितबहादुर गोलेलगायतको उपस्थिति रहेको थियो ।