फाइल तस्बीर ।
धनकौल, १३ बैशाख – सर्लाहीको दक्षिण–पश्चिम भेगस्थित धनकौल गाउँपालिका–४, महिनाथपुरमा चट्याङ लागेर एक जना वृद्ध गम्भीर घाइते भएका छन् ।
गएराति परेको चट्याङ लागेर ६० वर्षीय सीताराम यादव घाइते भएका हुन् । टाउको तथा शरीरका विभिन्न भागमा चट्याङ लागेर घाइते सीतारामको तराई अस्पताल रौतहटमा उपचार भइरहेको परिवारले जनाएको छ ।
घरगोठमा चट्याङ पर्दा यादवले पालेको १४ वटा चौपायसमेत मरेका छन् । इलाका प्रहरी कार्यालय हरकठवाका अनुसार चट्याङ परेर नौ वटा बाख्रा र पाँचवटा भैँसी मरेका हुन् ।
एउटा पाडा घाइते भएको प्रहरीले जनाएको छ । चट्याङ परेर आगलागी हुँदा गोठसमेत पूर्णरुपमा जलेर नष्ट भएको स्थानीयले बताएका छन् ।