मलंगवा, ०६ बैशाख – वालेन साहको नेतृत्वमा नयाँ सरकार गठन भएपछि सर्लाहीका विभिन्न पालिकामा सरुवा गरेर पठाइएका प्रमुख प्रशासकीय अधिकृत अझै हाजिर हुन आएका छैनन् ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शिक्षा, स्वास्थ्य र आयुर्वेद शाखाका कर्मचारीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृत बनाएर काम गरिँदै आएको सर्लाहीका ११ पालिकामा दरबन्दी अनुसार शाखा अधिकृत र उपसचिवलाई सरुवा गरेको छ । मन्त्रालयले चैत १६ गतेदेखि ३० गतेसम्म सरुवा गरेको ११ जना प्रमुख प्रशासकीय अधिकृतमध्ये चार जनाले मात्र पालिकामा आएर हाजिर भइ कामकाज सुरु गरेका छन् ।
मन्त्रालयले सरुवा गरेर पठाएका अन्य सात जना प्रमुख प्रशासकीय अधिकृतहरु भने सम्पर्कमै नआएका जनप्रतिनिधिको भनाइ छ । चैत १६ गतेको निर्णय अनुसार बागमती, कविलासी, हरिपुर र गोडैतामा सरुवा गरेर पठाइएका चार जना उपसचिव मात्र अहिलेसम्म हाजिर भएका छन् ।
बागमतीमा उपसचिव रामप्रसाद शर्मा, कविलासीमा उपसचिव मनहरि बराल, हरिपुरमा उपसचिव जयराम नेपाल र गोडैतामा उपसचिव हेमबहादुर कार्की हाजिर भएर जिम्मेवारी सम्हालेका हुन् । मन्त्रालयले चैत १९ गते धनकौल गाउँपालिकामा शाखा अधिकृत प्रशान्तकुमार बर्मा, विष्णु गाउँपालिकामा शाखा अधिकृत प्रमोदकुमार ठाकुर र बसबरिया गाउँपालिकामा शाखा अधिकृत सुजीतकुमार यादवलाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा सरुवा गरेको थियो ।
यस्तै चैत २६ गते हरिपुर्वा नगरपालिकामा उपसचिव जगदीश अर्याल र ईश्वरपुर नगरपालिकामा उपसचिव शालिकराम दाहाललाई प्रमुख प्रशासकीय अधिकृतको रुपमा पठाइएको थियो । त्यसैगरी चैत ३० गते मलङ्गवा नगरपालिकामा उपसचिव झङ्कनाथ ढकाल र बलरा नगरपालिकामा उपसचिव मेघराज पन्तलाई सरुवा गरेर पठाइएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको वेबसाइडमा उल्लेख छ ।
धनकौल गाउँपालिकाका अध्यक्ष रामआश्रय साहले मन्त्रालयले नयाँ शाखा अधिकृतलाई सरुवा गरिएको सूचना आफूले पनि देखेको तर सरुवा गरिएका कर्मचारी सम्पर्कमै नआएका बताए । मन्त्रालयले यसअघि पनि पालिकाहरुमा बारम्बार सरुवा गरेर पठाएका शाखा अधिकृत र उपसचिव सरुवा हुनै नआउने परिपाटी देखिएको थियो । नयाँ सरकार बनेपछि पनि उही समस्या देखिएको हो ।
प्रायः जनप्रतिनिधिबिच किचलो रहेको पालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृत आउन अस्वीकार गर्ने गरेका छन् भने कतिपय ठाउँमा हाजिर हुन आउनेलाई जनप्रतिनिधि आफैले हाजिर नै नगराउने परिपाटी रहेको छ ।