कौडेना, ०५ बैशाख – हुलाकी राजमार्ग अन्तर्गत सर्लाहीको कौडेनामा स्थानीयको अवरोधपछि रोकिएको कलभर्ट निर्माणको काम अघि बढाउने सहमति भएको छ ।
स्थानीयले कलभर्ट सँगसँगै लखन्देही र ढङ्ग्रा खोलामा तटबन्धको कामसमेत सँगै अघि बढाउनुपर्ने माग गर्दै चैत पहिलो सातादेखि कलभर्ट निर्माणको काममा अवरोध गरेका थिए । स्थानीयको अवरोधपछि एक महिनादेखि काम ठप्प रहेको छ ।
गत वर्ष असोज १८ र १९ गतेको भीषण वर्षापछि लखन्देही खोलामा आएको बाढी किसानको खेतमा पस्नुका साथै कौडेना गाउँपालिका–३, पर्सा गाउँ नजिक करिव १०० मिटर हुलाकी सडक बगाएको थियो । बर्सेनि बाढी आएर सडक बगाएर हैरान पारेपछि हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरले यो पटक भने ठेकेदारमार्फत मल्टीसेल बक्स कलभर्टको काम गरिरहेको छ ।
बक्स कलभर्ट निर्माणका लागि सुशम आदित्य विजय निर्माण सेवा प्रा.लि. उदयपुरले तीन करोड ५३ लाख तीन हजार २३ रुपियाँमा ठेक्का पाएको छ । स्थानीयको अवरोधअघि कलभर्टको काम १५ प्रतिसतजति सकिएको योजना कार्यालयले जनाएको छ । सो स्थानमा अहिले डाइभर्सनबाट जोखिमपूर्ण किसिमले सवारी साधन सञ्चालन भइरहेका छन् ।
कलभर्टको काम एक महिनादेखि रोकिएपछि जिल्ला प्रशासन कार्यालय सर्लाहीमा प्रतिनिधि सभा सदस्य रबिन महतोसमेतको उपस्थितिमा भएको छलफलले स्थानीयको माग बमोजिम तटबन्ध निर्माणका लागि प्राविधिकसहितको टोलीले अनुगमन निरीक्षण गरी प्रक्रिया अघि बढाउने सहमति भएको छ । तटबन्ध निर्माणबारे स्थगत निरीक्षण गरी बैशाख ७ गतेभित्र प्रतिवेदन तयार पारेर पेस गर्न सिँचाई तथा जलस्रोत व्यवस्थापन आयोजना कार्यालय रौतहटका प्रमुख अनुभव चौधरीको संयोजकत्वमा समिति बनाइएको छ ।
ि
जल्ला प्रशासन कार्यालयमा भएको सहमति अनुसार तटबन्ध निर्माणको प्रक्रिया अघि बढाउन प्राविधिकसहितको टोलीले चक्रघट्टा गाउँपालिका वडा नं. २, ३, ४ र कौडेना गाउँपालिका १, २, ३, ४, ५, ६ र ७ नम्बर वडासम्म स्थलगत अनुगमन गर्ने भएको छ । स्थलगत अनुगमन टोलीको प्रतिवेदन प्राप्त भएपछि तटबन्ध निर्माणका लागि सबै पक्षले आ–आफ्नो तर्फबाट तत्काल हुन सक्ने र दीर्घकालिन गर्न सकिने समस्या समाधानका लागि तालुक निकायमा थप बजेट व्यवस्थापनका लागि आवश्यक प्रक्रिया (सर्भे, डिपिआर, इस्टिमेट) लगायत अघि बढाउने सहमति भएको छ ।
यो सहमतिसँगै अब निर्माण व्यवसायीलाई कलभर्ट निर्माणको काम पुनः अघि बढाउन आग्रह गरिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय जनकपुरका सूचना अधिकारी एवं इन्जिनियर रंजितकुमार रायले जानकारी दिए । एक महिनाअघिको तुलनामा अहिले इन्धनको मुल्य र अन्य निर्माण सामग्रीको मुल्य अत्यधिक बढेकाले निर्माण व्यवसायीले फटाफट काम नगर्ने हुन की भन्ने चिन्ता रहेको इन्जिनियर रायको भनाइ छ ।
स्थानीयबाट अवरोध हुनुअघि कलभर्टमा फाउण्डेसनकै काम भइरहेको थियो । बर्खाअघि कलभर्टको काम नसके लगातार पानी पर्न थालेपछि डाइभर्सनबाट गाडी सञ्चालन गर्न सम्भव नहुने इन्जिनियर रायले बताए । कौडेनाका स्थानीयले लखन्देखी खोलाको पश्चिमतर्फको धारमा तटबन्ध रहे पनि पूर्वतर्फको धारमा तटबन्ध नरहेकाले दुवैतर्फ बाँध कस्न माग गरेका छन् ।
तटबन्ध नहुँदा लखन्देही र ढङ्ग्रा खोलामा आएको बाढी आफूहरुको सोझै खेतमा पस्ने गरेको र बालीनाली डुबानमा पर्ने गरेको कौडेना गाउँपालिका–३, पर्साका शिवशङ्कर साहले गुनासो गरे ।