जुटपानी, ०४ बैशाख – मातातीर्थ औंसी अर्थात् आमाको मुख हेर्ने दिनको अवसर पारेर आज लालबन्दी नगरपालिका २ जुटपानीमा वृद्ध आमाहरुलाई सम्मान गरिएको छ ।
आफ्नै सन्तानबाट अपहेलित तथा अन्य विभिन्न कारणले पद्म भुवनेश्वरी नमूना वृद्ध सेवाआश्रम जुटपानीमा ल्याएर राखिएका र आसपासका समेत गरेर २४ जना वृद्धाहरुलाई सम्मान गरिएको हो । उनीहरुलाई लालबन्दी नगरपालिका २ का वडाध्यक्ष किरणकुमार पासवान, सहयोगी दाता कृष्णा चौधरीलगायत भएर वृद्ध आमाहरुलाई रामनामी र खादा ओढाएर सम्मान गर्दै हर्लिक्स प्रदान गरेका छन् ।
हरेक वर्ष झैँ आश्रममा खुसी साटासाट गर्दै मातातीर्थ औँसी पर्व मनाइएको आश्रमकी अध्यक्ष भवानी कोइरालाले जानकारी दिईन् ।
मातातीर्थ औँसी मनाइयो
यसैबिच, हरेक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज सर्लाहीसहित देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइएको छ ।
छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्रा–राम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर काम सम्झने गर्छन् ।
सनातन वैदिक शास्त्रमा हरेक नरनारीले जीवनमा देव ऋण, मनुष्य ऋण र पितृ ऋण तिर्नैपर्छ भनिएको छ । वैदिक सनातन धर्मग्रन्थमा ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्मदिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि ठूला एवं प्यार हुन् भनी आमा र जन्मभूमिको महत्त्व दर्शाइएको छ ।
सन्तानलाई नौ महिनासम्म गर्भमा धारण गरी जीवन दिने भएकाले आमाको महत्त्व अरूभन्दा बढी छ । यस अवसरमा चन्द्रागिरि नगरपालिकाको माता तीर्थमा बिहानैदेखि मेला लागेको छ ।
सर्लाहीमा आमाको मुख हेर्ने दिन आज बिहानैदेखि सडक, बजारमा महिलाको बाक्लो आउजाउ भइरहेको देखिन्छ ।
केही दिनअघि देखि नै यहाँका बजारमा मातातीर्थ औंसीका लागि कपडा, मिठाई, फलफूललगायत खाद्यान्न खरिद गर्नेको अत्यधिक चहलपहल देखिएको थियो ।