गौरीशंकर, ०३ बैशाख – सर्लाहीको ईश्वरपुर नगरपालिका १३ र १४ का दुई अशक्त व्यक्तिलाई लायन्स क्लबले ह्वील चेयर प्रदान गरेको छ ।
ईश्वरपुर नगरपालिका १३ का लक्ष्मी महतो कोइरी र ईश्वरपुर १४ का रामजितन महतोलाई एक/एक थान ह्वील चेयर प्रदान गरिएको हो । लक्ष्मी हात्तखुट्टा नचल्ने र रामजितन पनि हिँड्डुल गर्न नसक्ने अवस्थामा रहेका छन् ।
उनीहरुलाई ह्वील चेयर उपलब्ध गराइदिन ईश्वरपुर १३ र १४ का वडा कार्यालयले लायन्स क्लबसँग माग गरेका थिए । सोही माग अनुसार लायन्स क्लब इन्टरनेशनल ३२५ एच डिष्ट्रिकका एरिया को–अर्डिनेटर राजकुमार न्यौपानेको पहलमा डेनमार्क कोपनहेगन बस्ने भुवनध्वज थापाले उपलब्ध गराएको ह्वील चेयर लक्ष्मी महतो कोइरी र रामजितन महतोको घरमै पुगेर हस्तान्तरण गरिएको हो ।
आर्थिक अवस्थासमेत कमजोर रहेका दुवै अशक्त व्यक्तिलाई हिँड्डुलमा सहयोग पुगोस् भन्ने उद्देश्यले ह्वील चेयर प्रदान गरिएको लायन्स क्लब मधेश प्रदेश ईश्वरपुर हेल्पिङ ह्यान्डसका अध्यक्ष डा. आलोक कुशवाहाले जानकारी दिए ।
ईश्वरपुरमा भर्खरै गठन भएको लायन्स क्लबले आगामी दिनमा पनि यस्ता अशक्त तथा विपन्न वर्गका मानिसलाई सहयोग र अन्य सामाजिक कार्य जारी राख्ने लक्ष्य लिएको अध्यक्ष डा. कुशवाहले बताए ।