महायज्ञ उद्घाटन समाराेहमा उपस्थित प्रमुख अतिथि मधेश प्रदेश सरकारका मन्त्री जवाहर लाल कुशवाहासहित अतिथि एवं आयाेजकहरु । (तस्बिर : उज्यालाे अभियान)
हरिवन, २६ चैत – हरिवन नगरपालिका-८, चापिनीस्थित लक्ष्मी नारायण मन्दिर परिसरमा आयोजित श्रीमद् वाल्मिकीय नवाह ज्ञान महायज्ञको उद्घाटन गरिएको छ ।
मधेश प्रदेश सरकारका उर्जा, सिंचाइ तथा खानेपानी मन्त्री जवाहर लाल कुशवाहाले एक समारोहबीच विहिबार बिहान महायज्ञको उद्घाटन गरेका हुन् । मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गोपिनाथ घिमिरेको अध्यक्षता रहेको उद्घाटन समारोहमा हरिवन नगरपालिकाकी पुर्व उपप्रमुख रेणुका पौडेल, हरिवन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष समेत रहेका समाजसेवी एवं राजनीतिज्ञ भरत कुमार कार्की लगायतले महायज्ञ आयोजनाबारे प्रष्टयाएका थिए ।
लक्ष्मी नारायण मन्दिरको भौतिक संरचना स्तरोन्नतीका लागि आर्थिक सहयोग संकलन गर्ने उद्धेश्यले आयोजित महायज्ञ २०८३ वैशाख ४ गते सम्पन्न हुने छ । कार्यक्रमका प्रमुख अतिथि मन्त्री कुशवाहाले आफ्नो तर्फबाट मन्दिरको भौतिक संरचना स्तरोन्नतीका लागि सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।
त्यसअघि विहिबार बिहान स्थानीयले कलश यात्रा गरेका थिए । कलश यात्रा हरिवन नगरपालिका–४ स्थित गणेश स्थान मन्दिर पुगेर पुनः लक्ष्मी नारायण मन्दिर परिसरमा आइपुगेको थियो । महायज्ञमा डा. केशव प्रपन्नाचार्यले कथा वाचन गर्ने छन् ।