logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

डाइभर्सन बगाएपछि हाइवे अवरुद्ध, पुरानै पुलबाट एकतर्फी गाडी चलाउने तयारी (तस्बिरहरु)


  • उज्यालो अभियान

हरिवन, २६ चैत – सर्लाहीको हरिवनस्थित चापिनी खोलामा डाइभर्सन बगाएपछि आज (बिहीबार) बिहान ४ बजेदेखि पूर्वपश्चिम राजमार्ग अवरुद्ध रहेको छ ।

राति भएको भारी वर्षापछि बाढी आएर चार लेनमा विस्तार भइरहेको पूर्वपश्चिम राजमार्ग अन्तर्गत हरिवनको तीनघरे र बासाटोलको बिचमा पर्ने चापिनी खोलाको डाइभर्सन बगाउँदा राजमार्ग नै अवरुद्ध बनेको हो । पुरानो पुललाई मर्मत गर्ने र छेउमै अर्को पुल बनाउने काम भइरहेकाले डाइभर्सनबाट सवारी आउजाउ गर्दै आइरहेका थिए ।

डाइभर्सन बगाएसँगै अब पूर्वपश्चिम राजमार्गकै पुरानो पुलको मर्मत कार्य रोकेर सोही पुलबाट यातायात सूचारु गर्न माटो भर्ने काम भइरहेको इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक चन्द्रकान्त अधिकारीले जानकारी दिए । आधा/एक घण्टाभित्र पुरानो पुलबाट एकतर्फी भए पनि गाडी चलाउने गरी माटो भर्ने काम भइरहेको उनले बताए ।

४ घण्टादेखि जाममा पर्दा नाइट बसमा आएका यात्रु तथा अन्य सवारीका यात्रु र चालकको बिचल्ली भएको छ । केही सबारीसाधन चापिनी हुँदै गाउँको भित्री बाटोबाट आवतजावत गरिरहेका छन् । पश्चिमतर्फ हरिवन चोकसम्मै रात्रिबस, मालबाहक ट्रक लगायतको लाम लागेको छ भने पूर्वतर्फ गणेशचोक भन्दा पर लाम पुगिसकेको छ ।

इन्स्पेक्टर अधिकारीका अनुसार बाढीले बगाएको डाइभर्सन निर्माण गर्न भने समय लाग्ने अवस्था छ । सर्लाहीमा अहिले पूर्वपश्चिम राजमार्गको दर्जनौँ स्थानमा डाइभर्सनबाट सबारी पास गराइ बक्स कलभर्ट र पुल निर्माण गर्ने काम भइरहेको छ ।

राति २ बजेपछि भएको भारी वर्षाले पानी जम्ने र हिलाम्मे भएकाले अन्य ठाउँको डाइभर्सनबाट पनि कष्टपूर्ण किसिमले सवारी साधन संचालन भइरहेका छन् ।