मलंगवा, २३ चैत – सरकारको पछिल्लो निर्णयपछि सर्लाही प्रहरीले नापी, मालपोत र यातायात कार्यालयमा लेखापढी व्यवसायी र सहजीकरणको काम गर्दै आइरहेका व्यक्तिमाथि धरपकड र पक्राउ गर्ने अभियान सुरु गरेको छ ।
हिजो मात्र सदरमुकाम मलंगवास्थित मालपोत कार्यालयबाट सात जना र यातायात व्यवस्था कार्यालयको ट्रायल सेन्टरबाट दुई जनालाई पक्राउ गरिएको थियो । लेखापढी व्यवसायी पक्राउको विरोधमा मालपोत कार्यालय मलंगवा बाहिर बसेर लेखन्दासको काम गर्नेहरुले आज काम नगरी बसेका छन् ।
उनीहरु ‘पेन डाउन’ गरेर बसेपछि लेखापढी र अनलाइन इन्ट्रीको काम गर्न नपाउँदा मालपोत र नापी कार्यालयमा सेवा लिन पुगेका सेवाग्राही मारमा परेका छन् । लेखापढीबाट हुँदै आएको कामका लागि सरकारले तुरुन्त अर्को व्यवस्था गर्नुपर्ने सेवाग्राहीको माग छ ।
अन्यथा अत्यावश्यक काम परेर नापी, मालपोत पुगेका आफूहरुले दुःख पाउन थालेको उनीहरुले बताएका छन् । आफूहरुलाई कार्यालयभित्र प्रवेश गर्न निषेध गरेपछि गएको शुक्रबार मालपोत कार्यालय हरिवन अगाडि लेखापढी गर्नेहरुले पनि कामकाज ठप्प पारेर बसेका थिए ।