लालबन्दी, २३ चैत – सरकारको निर्णय बमोजिम सर्लाहीका सरकारी कार्यालयहरु पनि आजदेखि बिहान ९ बजेबाटै संचालनमा आउन थालेका छन् ।
हिजो बसेको मन्त्रीपरिषद्को बैठकले मध्यपूर्वको तनावका कारण इन्धन असहजता भएपछि आजदेखि सातामा २ दिन शनिबार र आइतबार बिदा लागू गर्दै अरु दिन बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कार्यालय सञ्चालन गर्ने निर्णय गरेको थियो । सोही निर्णय बमोजिम सर्लाहीमा सरकारी कार्यालयहरु आजबाट बिहान ९ बजेदेखि नै खुल्न थालेका हुन् ।
सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी सरकारको निर्णय बमोजिम बिहान ९ बजेदेखि नै कार्यालय खोलेर सेवा दिन सुरु गरिएको बताए । सरकारको निर्णय पालना गर्दै अधिकांश कार्यालयहरुमा आज पहिलो दिन थोरै कर्मचारी मात्र बिहान ९ बजेभित्र कार्यालय पुगेका थिए ।
यसअघि बिहान १० बजेदेखि कार्यालय खुल्दा पनि स्थानीय तह तथा विभिन्न सरकारी निकायका कर्मचारी समयमै कार्यालयमा नपुग्ने गरेको गुनासो आउने गरेको थियो । नागरिक समाज सर्लाहीका महासचिव शिवचन्द्र चौधरीले कर्मचारीहरु कार्यालयमा ढिलो गरी आउने र चाँडै जाने प्रवृत्ति ब्याप्त रहेकाले यसतर्फ सरकारले ध्यान दिनुपर्ने बताए ।
चौधरीले सदरमुकाम मलंगवाकै जिल्ला प्रशासन, मालपोत, नापी, यातायातलगायतका कार्यालयमा दैनिक पुग्ने सयौँ सेवाग्राही सहज रुपमा सेवा नपाउने र कर्मचारीले विभिन्न बहानाबाजी गरेर काममा आलटाल गर्ने प्रवृत्ति रहेकाले त्यसलाई पनि सुधार गर्नुपर्ने माग गरेका छन् ।
दक्षिणवर्ती अधिकांश पालिकाका प्रमुख प्रशासकीय अधिकृत, लेखा अधिकृतलगायतका मुख्य कर्मचारीहरु नै सदरमुकाम र बजार क्षेत्रमा अघोषित कार्यालय खोलेर बस्ने परिपाटीतर्फ पनि ध्यान दिनुपर्ने नागरिक समाजका अगुवा चौधरीको माग रहेको छ ।