मलंगवा, २२ चैत – मलंगवास्थित भूमि सुधार तथा मालपोत कार्यालय र यातायात व्यवस्था कार्यालयको ट्रायल सेन्टरबाट प्रहरीले आज नौ जनालाई पक्राउ गरेको छ ।
मालपोत कार्यालयबाट सात जना र यातायात कार्यालयको ट्रायल सेन्टरबाट दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक बिशालबहादुर बुढाथोकीले जानकारी दिए । उनीहरुलाई प्रहरीले बिचौलियाको काम गरेको आरोपमा पक्राउ गरेको हो ।
सरकार गरेको निर्णय विपरीत कार्यालयभित्र प्रवेश गरेको भन्दै प्रहरीले मालपोत र यातायात कार्यालय अगाडि बसेर लामो समयदेखि लेखापढी तथा अन्य सहजीकरणको काम गर्नेहरुलाई पक्राउ गरेको हो । पक्राउ परेका नौ जनालाई जिल्ला प्रहरी कार्यालय मलङ्गवामा लगेर राखिएको इन्स्पेक्टर बुढाथोकीले बताए ।
प्रहरीले सरकारको आदेशमा बिचौलिया भन्दै भकाभक लेखापढी व्यवसायीलाई पक्राउ गर्न थालेपछि सेवाग्राहीहरुको काम भने प्रभावित हुन थालेको छ ।