मृतकको परिवार, आफन्त र दुर्घटनाका प्रत्यक्षदर्शी भएर गरेको पत्रकार सम्मेलन । (तस्बीर : उज्यालो अभियान)
बबरगन्ज, २१ चैत – चन्द्रनगर गाउँपालिका–२, बिर्ताटोलमा २ महिनाअघि मोटरसाइकलको ठक्करबाट मृत्यु भएको एक महिलाका परिवारले अझै नियम अनुसारको क्षतिपूर्ति रकम पाउन सकेका छैनन् ।
क्षतिपूर्ति रकम नपाएकोबारे परिवारले आज पत्रकार सम्मेलन गरी गुनासो गरेका हुन् । गत माघ १६ गते बिहान बिर्ताबाट बर्कुरवातर्फ गइरहेको बीआर ३० एपी ३०३७ नम्वरको भारतीय मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्री स्थानीय ६५ वर्षीया शान्तिदेवी ठाकुरको मृत्यु भएको थियो ।
दुर्घटना भएको २ महिना बढी भइसक्दा पनि कानून बमोजिम पाउनुपर्ने क्षतिपूर्ति रकम पाउन नसकेको मृतक शान्तिदेवीका कान्छो छोरा सन्जित शर्माले पत्रकार सम्मेलनमा बताए । दुर्घटनापछि पक्राउ परेका मोटरसाइकल चालक चन्द्रनगर गाउँपालिका–३, बर्कुरवाका २० वर्षीय बिशाल महतो सर्लाही जिल्ला अदालतको आदेश अनुसार एक लाख रुपियाँ धरौटी बुझाएर हिरासतमुक्त भइसकेका प्रहरीले जनायो ।
मृतकको परिवारले मोटरसाइकल चालकको सवारी चालक अनुमति पत्र नहुँदासमेत प्रहरीले सामान्य ढङ्गले मुद्दा अघि बढाएर उनलाई चाँडै हिरासतमुक्त गराउन सहयोग गरेको आरोप लगाएका छन् । प्रहरीले घटनास्थलमा उठाएको मुचुल्का र पछि अदालतमा मुद्दा पेस गर्दा विवरण फरक गरेको आरोप पनि लगाइएको छ ।
इलाका प्रहरी कार्यालय केशरगन्जले भने मृतकको परिवारले पाउने क्षतिपूर्ति रकमबापतको ५ लाख रुपैयाँ र क्रिया खर्चबापत प्राप्त गर्ने ५० हजार रुपैयाँ जिल्ला प्रशासन कार्यालयमा गएर लिन सक्ने बताएको छ । केशरगन्जका इन्स्पेक्टर नितेशकुमार सिंहले ३५ दिन हिरासतमा बसेपछि अदालतको आदेश अनुसार अदालतमा एक लाख धरौटी बुझाएर छुटेका चालकले जिल्ला प्रशासन कार्यालयमा समेत पाँच लाख ५० हजार रुपैयाँ धरौटी राखेकाले सो रकम मृतकको परिवारले नै प्राप्त गर्ने उज्यालो अभियानसँग बताए ।