हरिवन, २० चैत – ६९ औँ राष्ट्रिय सहकारी दिवसको अवसरमा सर्लाहीको हरिवनमा आयोजित विद्यालयस्तरीय खुला चित्रकला प्रतियोगितामा बरुण रमौल पहिलो भएका छन् ।
सगुन बचत तथा ऋण सहकारी संस्था हरिवनले आयोजना गरेको प्रतियोगितामा महादेव जनता माध्यमिक विद्यालय हरिवनका छात्र रमौली पहिलो बनेका हुन् ।
यस्तै प्रतियोगितामा सर्लाही एम्बिसन एकेडेमी नयाँरोडकी लेसी वाइवा दोस्रो र बाल निकेतन इङ्लिस स्कुल घुर्कौलीकी रोशनी सिंह तेस्रो भएका छन् ।
पहिलो, दोस्रो र तेस्रो हुने विद्यार्थीलाई क्रमश : नगद छ हजार ६६६, पाँच हजार ३३३ र चार हजार रुपियाँ नगद पुरस्कारसहित प्रमाण–पत्र प्रदान गरिएको आयोजक संस्थाका प्रवन्धक रवीन्द्र रानाले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा सहभागी अन्य विद्यार्थीलाई पनि प्रमाण–पत्र र चित्रकला तयारी खर्चबापत ३०० रुपियाँ प्रदान गरिएको छ ।
प्रतियोगितामा हरिवन नगरपालिकाभित्रका ११ वटा विद्यालयबाट १५ जना विद्यार्थी सहभागी भएका थिए । सहभागी विद्यार्थीलाई चित्रकला तयार पार्न एक घण्टा ३० मिनेटको समय प्रदान गरिएको थियो ।
“उद्यमशीलता र पारदर्शिता ः सहकारीको प्राथमिकता” भन्ने नारासहित संस्थाका अध्यक्ष केशवप्रसाद ढकालको अध्यक्षतामा विद्यार्थीमा रहेको चित्रकलासम्वन्धी प्रतिभा उजागर र प्रोत्साहन गर्ने उद्देश्यसहित प्रतियोगिता सम्पन्न गरिएको सगुन बचत तथा ऋण सहकारी हरिवनले जनाएको छ ।
यस्तै, ६९ औँ सहकारी दिवसको अवसरमा आज हरिवनमा हरिवन नगर सहकारी सन्जालको आयोजनामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ । सगुन सहकारीको प्राङ्गणमा बिहान ९ः३० बजेदेखि रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।