हरिवन, १९ चैत – लेखापढी व्यवसायी आन्दोलित बनेपछि सर्लाहीको हरिवनमा रहेका नापी र मालपोत कार्यालयको सेवा प्रभावित बनेको छ ।
सरकारले लेखापढी व्यवसायीलाई कार्यालयभित्र प्रवेश गर्न नदिनु भनी परिपत्र गरेपछि नापी र मालपोत कार्यालय हरिवनले आजदेखि कार्यालयको गेटभित्र प्रवेश गर्न निषेध गरेसँगै लेखापढी व्यवसायी आन्दोलित बनेका हुन् । उनीहरु आज दिनभर सटर बन्द गरेर सेवाग्राहीको काम नगरी बसे ।
लेखापढी व्यवसायीले बाहिर बसेर कागजात तयार पार्ने तथा अनलाइनबाट हुने काम गर्ने गर्दै आइरहेका थिए । कार्यालयभित्र लेखापढी व्यवसायीलाई प्रवेश गर्न नदिनु भन्ने आशयको पत्र आएपछि मालपोत कार्यालय हरिवनले आज बिहान स्थानीय लेखापढी व्यवसायीसँग छलफल गरेर परिपत्रबारे जानकारी गराएको थियो ।
लेखापढी व्यवसायी संघ हरिवनका पूर्व अध्यक्ष एवं लेखन्दास अकलबहादुर भण्डारीले दर्ता गरेर नेपाल सरकारलाई राजस्व बुझाएरै काम गर्दा ‘बिचौलिया’ भन्नु दुःखद् रहेको बताए । लेखापढी व्यवसायी कामकाज बन्द गरेर बसेपछि जग्गा राजिनामा, कित्ताकाटलगायत काम लिएर हरिवन पुगेका सेवाग्राही काम नभएर रित्तोहात घर फर्कन बाध्य भएका छन् ।
मालपोत कार्यालय हरिवनका प्रमुख उदयप्रसाद देवकोटाले विभागबाट प्राप्त परिपत्र कार्यान्वयन गर्दै कार्यालयभित्र प्रवेश गर्न रोक लगाइएको बताए ।
अहिलेको व्यवस्था अनुसार बाहिर बस्ने लेखापढी व्यवसायीमार्फत नै लेखापढी र धेरैजसो अनलाइन इन्ट्रीको काम हुने हुँदा व्यवसायी आन्दोलित हुँदा कार्यालयको काममा प्रभाव परेको प्रमुख मालपोत अधिकृत देवकोटाले बताए । “सबै सेवाग्राहीको अनलाइनमा गर्नुपर्ने इन्ट्रीका काम गर्न हामीसँग जनशक्ति पर्याप्त छैनन्, तर सरकारले गरेको निर्णय त मान्नैपर्छ” प्रमुख मालपोत अधिकृत देवकोटाले भने, “लेखापढी व्यवसायी आन्दोलित भएपछि कामकाज रोकिन पुगेको विषयमा सरकारले थप केही निर्णय वा व्यवस्था गर्छ नै होला ।”