कौडेना, १२ चैत – सर्लाहीको कौडेना गाउँपालिकामा स्थानीयले पहिले नदीमा तटबन्ध निर्माण गरेर मात्र पूर्वपश्चिम हुलाकी राजमार्गमा कलभर्ट बनाउन माग गरेको क्षेत्रमा हिजो अनुगमन गरिएको छ ।
गत असोज मध्यतिर लखन्देही र ढंग्रा खोलामा आएको बाढीले कौडेना गाउँपालिका ३ पर्सा गाउँ नजिक हुलाकी सडक बगाएको थियो । त्यहाँ अहिले डाइभर्सनबाट गाडी चलिरहेको छ ।
हुलाकी सडक आयोजना जनकपुरले सडक कटान गरेको ठाउँमा अबदेखि तलबाट पानी निकास हुने गरी बक्स कलभर्ट बनाइरहेको छ । असोजमै सबै सरोकारवालाको उपस्थितिमा भएको छलफलको निर्णय अनुसार कलभर्ट निर्माणको काम धमाधम भइरहेकोमा केही दिनदेखि स्थानीयले पहिले नदीमा तटबन्ध कस्न अनि मात्र कलभर्टको काम अघि बढाउन माग गर्दै काम रोकेका छन् ।

कलभर्ट बनिरहेको ठाउँबाट उत्तर पश्चिमतर्फबाट वर्षेनि बाढी पस्ने गरेको भन्दै स्थानीयले कलभर्ट निर्माणमै अवरोध गरेपछि हिजो जलस्रोत तथा सिँचाई विकास चन्द्रनिगाहपुरका प्रमुख अनुभव चौधरी, हुलाकी सडक आयोजना जनकपुरका सूचना अधिकारी एवं इन्जिनियर रन्जित राय यादव, गाउँपालिका अध्यक्ष रुपेश कुमार लगायतको टोलीले अनुगमन गरेको हो । स्थानीयले कौडेनादेखि चक्रघट्टासम्म करिव डेढ किलोमिटर तटबन्ध निर्माण गर्न माग गरेका छन् ।
अनुगमनमा आएका जलस्रोत तथा सिँचाई विकास चन्द्रनिगाहपुरका प्रमुख अनुभव चौधरीले यो वर्षको बजेट नरहेकाले तटबन्ध कस्न आगामी वर्षका लागि बजेट पार्न पहल गर्ने पत्रकारहरुसँग बताएका छन् ।
सर्लाही २ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य रबिन महतोले समेत स्थानीयको माग पुरा नहुन्जेल बक्स कलभर्टको काम अघि नबढाउन निर्देशन दिएपछि कलभर्ट बनाउने ठेक्का पाएका र निर्माण सामग्री झारेर धमाधम काम गरिरहेका ठेकेदार मारमा परेका छन् ।