logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

लालबन्दी १० मा २६ जना महिलालाई पशुपालन सम्वन्धी तालिम प्रदान


  • उज्यालो अभियान

लालबन्दी, ०८ चैत – लालबन्दी नगरपालिकाको आर्थिक सहयोगमा वडा नं. १० चन्द्रपुरका २६ जना महिलालाई पशुपालन सम्वन्धी १ हप्ते तालिम प्रदान गरिएको छ ।

नगरपालिकाको गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेड्पा) शाखाले महिलाहरुलाई पशुपालन तालिम प्रदान गरेको हो । तालिमको आज वडाध्यक्ष टोपबहादुर श्रेष्ठको अध्यक्षता तथा लालबन्दी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पितानाथ लुइँटेलको प्रमुख आतिथ्यतामा र वडा सदस्यहरुको आतिथ्यतामा समापन गरिएको हो ।

तालिममा सहभागी गुराँस लघु उद्यमी समूहकी अध्यक्ष गोमा विश्वकर्मा र सयपत्रि लघु उद्यमी समूहकी अध्यक्ष मनिषा विकले ७ दिनसम्मको तालिमपछि पशुपालनको सम्वन्धमा धेरै कुरा थाहा पाउन पाएको बताईन् ।

कार्यक्रमका प्रमुख अतिथि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लुइँटेलले तालिममा सिकेको सीप व्यवहारमा लागु गरी पशुपालनमार्फत आयआर्जन वृद्धि गर्ने काममा लाग्न महिलाहरुलाई आग्रह गरेका छन् ।

महिलाहरुलाई लालबन्दी नगरपालिकाको पशु सेवा शाखाका प्रमुख एवं पशु चिकित्सक डा. बिमल श्रेष्ठले ७ दिनसम्म तालिम प्रदान गरेका नगरपालिकाका वरिष्ठ उद्यमविकास सहजकर्ता समिर सुवेदीले जानकारी दिए ।

उनका अनुसार यो वर्ष लालबन्दीको वडा नं. १० र ११ लाई छनौट गरी मेड्पा कार्यक्रम लागु गरिएको छ ।