logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

वडा र नगरपालिकाले बेवास्ता गरेपछि बाटो मर्मत गर्न गाउँले आफै जुटे


  • उज्यालो अभियान

नारायणखोला, ०८ चैत – जिल्लाकै सबैभन्दा विकट क्षेत्रमा पर्ने लालबन्दी नगरपालिका–१४, नारायणखोलाका स्थानीय एकजुट भएर श्रमदान गरी बाटो मर्मत गर्न सुरु गरेका छन् ।

अहिलेसम्म स्थायी सडक नपुगेको नारायणखोलाका स्थानीयहरु सक्रिय भई चुरेपाखाको कच्ची गोरेटो बाटो मर्मतका लागि हिजोदेखि श्रमदानमा लागि परेका हुन् । लालबन्दी नगरपालिका–१५, चिसापानीदेखि अर्नेडाँडा हुँदै लालबन्दी १४ को नारायणखोला, हात्तीसुँढे, तोरीबारी, मोथे भएर सिन्धुलीको मरिण गाउँपालिकासम्म जोड्ने बाटो मर्मतका लागि गाउँबासी मिलेर श्रमदान सुरु गरेको नारायणखोलाका स्थानीय एवं वडाध्यक्षका प्रत्यासी भीमबहादुर पाख्रिनले उज्यालो अभियानसँग बताए ।

यो बाटो मर्मतका लागि वडा तथा नगरपालिकाले ध्यान नदिएकाले पनि आफूहरु सक्रिय भएर श्रमदानमा जुट्नु परेको पाख्रिनले जानकारी दिए । नारायणखोलाका स्थानीय अहिले प्रायः लखन्देही र डाइनी खोलाको बगर भएर पत्थरकोट हुँदै लालबन्दी बजार आउने गरेका छन् ।

खोलाको बगर भएर अहिले हिउँदका महिनामा बस, बोलेरोलगायतका गाडीसमेत संचालन भइरहेका छन् । बर्खा लागेपछि भने यातायात ठप्प हुन्छन् र बाढी आउँदा पैदल हिँडेर लालबन्दी बजार आउन पनि स्थानीयलाई समस्या पर्छ ।

लालबन्दी १५ चिसापानीतर्फको गोरेटो बाटो भने छोटो पर्ने अर्का स्थानीय शुक्र थिङ तामाङले बताए । मरिणबाट नारायणखोला हुँदै चिसापानी निस्कने यो बाटो मर्मतका लागि स्थानीयले बारम्बार आवाज उठाउँदै आएका छन् ।

यो बाटोमा दुई÷तीन ठाउँमा पुल हालेर मर्मत गरिए आकस्मिक बिरामी पर्दा तथा सुत्केरीलाई झोलुङ्गोमा बोकेर ल्याउनुपर्दा सहज हुने स्थानीयले बताएका छन् । श्रमदानको पहिलो दिन शनिबार डेढ किलोमिटर जति बाटोमा खाल्डाखुल्डी पुरेर सम्याउने काम गरिएको हो ।

स्थानीयले अब आगामी शनिबार यसैगरी चाउजाउ र पानी खाएरै श्रमदान गरी बाटो मर्मतको काम गर्ने बताएका छन् ।