मलंगवा, १५ माघ – सर्लाहीमा आजदेखि एक साताका लागि विदेशी नम्बर प्लेटका सवारी साधन संचालनमा रोक लगाइएको छ ।
जिल्ला सुरक्षा समितिको बैठक र राजनीतिक दलहरुसहितको बैठकले समेत फागुन १५ गतेदेखि २२ गतेसम्म जिल्लाभर कुनै पनि बिदेशी नम्बर प्लेटका सवारी साधन संचालन नगर्ने र यदि कसैले संचालन गरेको पाइए प्रहरीले नियन्त्रणमा लिने भन्ने निर्णय गरेको थियो । सो निर्णय आजदेखि कार्यान्वयनमा आएको हो ।
निर्णय अनुसार सर्लाहीमा आजदेखि विशेष गरी भारतीय नम्बर प्लेटका गाडी तथा मोटरसाइकल संचालनमा कडाई गर्ने काम भइरहेको छ । बिदेशी नम्बर प्लेटका सवारी साधन संचालन गर्दा फागुन २१ को निर्वाचनको सुरक्षा संवेदनशीलतामा असर गर्ने भएपछि एक साताका लागि बिदेशी नम्बर प्लेटका गाडी संचालनमा रोक लगाउने निर्णय गरिएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाले बताए ।
चुनावलाई लक्षित गर्दै जिल्लामा हिजैदेखि मदिरा अर्थात् जाँड–रक्सी बेचबिखन र सेवनमा प्रतिवन्ध लगाइसकिएको छ । यस्तै हिजो मात्र बसेको जिल्ला सुरक्षा समितिको बैठकले निर्वाचनलाई लक्षित गरी सर्लाहीमा तीन दिन नेपाल–भारत सीमा नाका सिल निर्णय गरेको छ ।
बैठकले चुनावको मौन अवधि फागुन १८ गते राति १२ बजेदेखि २१ गते राति १२ बजेसम्म नेपाल–भारत बोर्डरबाट आवतजावत पूर्णरुपमा निषेध गर्ने निर्णय गरेको हो ।