logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

नेपाल मगर संघको ४४ औँ स्थापना दिवस मनाइयो


  • उज्यालो अभियान

घनश्याम बलम्पाकी/हरिवन, १५ फागुन-४४औं मगर एकता दिवस आज सर्लाहीमा विभिन्न सांस्कृतिक तथा औपचारिक कार्यक्रमका साथ भव्य रूपमा मनाइएको छ ।

नेपाल मगर संघ सर्लाही जिल्ला समितिको आयोजनामा हरिवनमा रहेको सरस्वती पार्टी प्यालेसस्थित सम्पन्न कार्यक्रममा मगर समुदायका अगुवा, स्थानीय जनप्रतिनिधि, सामाजिक अभियन्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थितिमा मनाइएको हो । कार्यक्रममा मगर समुदायको मौलिक पहिचान झल्किने झाँकी, सांस्कृतिक नृत्य तथा गीत प्रस्तुत गरिएको थियो। वक्ताहरूले मगर समुदायको भाषा, संस्कृति र परम्परा संरक्षणमा एकजुट हुनुपर्नेमा जोड दिएका थिए ।

उनीहरूले मगर जातिको इतिहास र योगदानलाई राज्यले उचित सम्मान गर्नुपर्ने धारणा पनि व्यक्त गरे । जिल्ला समितिका पदाधिकारीहरूले मगर दिवसले समुदायबीच एकता, पहिचान र आत्मसम्मानको भावना बढाउने विश्वास व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी कार्यक्रम संचालन गर्ने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रम अन्त्यमा सहभागीहरूबीच शुभकामना आदानप्रदान तथा सामूहिक सांस्कृतिक प्रस्तुति गरिएको थियो । मगर एकता दिवसकै अवसरमा हरिवन,लालबन्दी र बागमती नगरपालिकाले आज सार्वजनिक बिदा समेत दिएका थिए ।

नेपाल मगर संघ सर्लाहीका अध्यक्ष कमलबहादुर क्यापछाकी (कामना) को अध्यक्षता तथा मधेश प्रदेश सभा सदस्य बेची लुंगेलीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा मगर समुदायको उत्थानमा योगदान पुर्याउने व्यक्तिहरुलाई सम्मानसमेत गरिएको छ ।