logo
  • शुक्रबार, कार्तिक १४, २०८३ / Friday, Oct, 30 ,2026

डाँका मुद्दामा १८ वर्ष सजाय पाएका युवक पक्राउ


  • उज्यालो अभियान

लालबन्दी, १४ फागुन – बेग्लाबेग्लै तीनवटा डाँका-चोरी मुद्दामा १८ वर्ष १५ दिनको कैद सजाय पाएका एक युवक लालबन्दीबाट पक्राउ परेका छन् ।

डाँका–चोरी मुद्दाका प्रतिवादी हरिवन नगरपालिका-६, बस्ने ३३ वर्षीय मदनबहादुर लामालाई इलाका प्रहरी कार्यालय लालबन्दीका प्रमुख एवं प्रहरी निरीक्षक वीरेन्द्रसिंह जोहारीको नेतृत्वमा खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । लामालाई सर्लाही जिल्ला अदाततले डाँका-चोरी मुद्दामा एक पटक सात वर्ष दुई महिना पाँच दिन, अर्को पटक पाँच वर्ष आठ महिना पाँच दिन र फेरि अर्को पटक पाँच वर्ष दुई महिना पाँच दिन गरी १८ वर्ष कैद सजाय सुनाएको प्रहरीले जनाएको छ ।

तीन पटक गरेर लामाविरुद्ध अदालतले एक लाख ७५ हजार रुपियाँ जरिवानासमेत सुनाएको छ । चुनावको मौका पारेर लालबन्दी बजारमा घुमफिर गरिरहेको अवस्थामा पक्राउ परेका लामालाई प्रहरीले आज सर्लाही जिल्ला अदालत पेश गरेको थियो ।

अदालतले लामालाई १८ वर्ष १५ दिन कैद भुक्तानका लागि कारागार चलान गर्न आदेश दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी सरोज राईले जानकारी दिए ।

डिएसपी राईका अनुसार लामालाई अदालतको आदेश अनुसार आज नै कारागार कार्यालय मलङ्गवा चलान गरिएको छ ।