मलंगवा, ०५ माघ – सशस्त्र प्रहरी बल नेपालको पूर्वपश्चिम झण्डा मार्च सर्लाहीबाट रौतहटलाई हस्तान्तरण गरिएको छ ।
२५ औँ सशस्त्र प्रहरी दिवस–२०८२ (रजत) महोत्सवको अवसरमा पूर्वको मेची र पश्चिमको महाकालीबाट सीमा क्षेत्रमा झण्डा मार्च कार्यक्रम सुरु गरिएको थियो । सो क्रममा पूर्व मेचीतर्फबाट सुरु भएको पूर्वपश्चिम झण्डा मार्च कार्यक्रम माघ २ गते महोत्तरीले सर्लाहीलाई हस्तान्तरण गरेको थियो ।

सर्लाहीमा दुई दिन सीमा क्षेत्रमा झण्डा मार्च गरी गएसाँझ रौतहटलाई हस्तान्तरण गरिएको सर्लाहीका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) देवबहादुर चन्दले जानकारी दिए । सर्लाही र रौतहटको सीमामा पर्ने बलरा नगरपालिका–१, छन्कीटोलामा एक कार्यक्रमकाबिच पूर्वपश्चिम झण्डा मार्च कार्यक्रम रौतहटका सशस्त्र प्रहरी उपरीक्षक (एसपी) रामहरि अधिकारीलाई हस्तान्तरण गरिएको हो ।

सीमा क्षेत्रको सुरक्षा र स्थानीय समुदायसँग सुमधुर सम्वन्ध कायम गर्ने उद्देश्यले पूर्वपश्चिम झण्डा मार्च कार्यक्रम गरिरहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।
पूर्व र पश्चिम दुवै क्षेत्रबाट एकैसाथ सुरु भएको झण्डा मार्च कार्यक्रम पर्साको ठोरीमा आएर मिलन हुने बताइएको छ ।