ईश्वरपुर, ०१ माघ – सर्लाहीको ईश्वरपुर नगरपालिका–१, चौलिखा बजारमा हिजो जिल्लास्तरीय १० औँ माघी महोत्सव–२०८२ (थारु सम्वत २६४९) मनाइएको छ ।
थारु कल्याणकारी सभा जिल्ला कार्य समिति सर्लाहीको आयोजनामा एक दिने माघी महोत्सव गरिएको हो । सो अवसरमा थारु समुदायको भेषभुषासहित झाँकी, र्याली, नाचगान र शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरिएको कार्यक्रम संचालक एवं शिक्षक नाथुराम चौधरीले जानकारी दिए ।

थारु कल्याणकारी सभा जिल्ला कार्य समिति सर्लाहीका सभापति सूर्यनारायण चौधरीको अध्यक्षता तथा सर्लाही क्षेत्र नं. १ का निवर्तमान प्रतिनिधि सभा सदस्य रामप्रकाश चौधरीको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा ईश्वरपुर नगरपालिकाका प्रमुख मनोजकुमार आचार्य, उपप्रमुख रन्जितादेवी चौधरी, निवर्तमान नगरप्रमुख मनोजकुमार देवकोटा, थारु कल्याणकारी सभाका केन्द्रीय तथा जिल्ला र गाउँ समितिका पदाधिकारीलगायतको आतिथ्यता रहेको थियो ।

माघी महोत्सवमा थारु समुदायको विभिन्न परिकारका स्टलहरु राखिएको थियो । माघी पर्वकै अवसरमा भोलीदेखि हरिपुर नगरपालिका ७ चिताइन पचगछियामा पनि माघी महोत्सव सुरु हुँदै छ ।

यस्तै सर्लाहीका मगर समुदायले आज मकर संक्रान्ति पर्वको अवसरमा लालबन्दी ९ बस्तीपुर र बरहथवा नगरपालिका २ हजरियामा शुभकामना आदानप्रसादन तथा सांस्कृतिक कार्यक्रम आयोजना गरेका छन् ।